
काठमाडौं : सरकारले चलचित्रसम्बन्धी सेन्सर बोर्डमा प्रमाणीकरण समितिको व्यवस्था गर्ने भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सो बोर्डमा रहेको जाँच समितिको सट्टामा प्रमाणीकरण समिति राख्न उपयुक्त हुने धारणा राखेका हुन् । मंगलबार संघीय संसद् राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्था समितिको बैठकमा चलचित्र विधेयक, २०८१ माथि दफावार छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री खरेलले सो व्यवस्था गर्न उपयुक्त हुने बताए ।
उनले सेन्सर बोर्डमा ४ जना विज्ञहरू रहने व्यवस्था गर्न पनि आवश्यक रहेको बताए । बैठकमा सांसदहरूले विज्ञहरूको संख्या सो बोर्डमा बढाउन आवश्यक रहेको धारणा राखेका थिए ।
त्यसको जवाफमा मन्त्री खरेलले ४ जना विज्ञहरू रहने व्यवस्था गर्ने र अध्यक्षलाई आवश्यक तलवसहितको सेवा, सुविधा व्यवस्था गर्नुपर्ने कानुनी व्यवस्था गर्नुपर्ने बताए ।
मन्त्री खरेलले चलचित्र विकास बोर्ड स्वायत्त संस्था भएकाले यसको जिम्मेवारी गहन रहेको समेत बताए ।