
नेपालमा अनलाइन ठगी ठुलो समस्याका रूपमा बढ्दै गएको छ । पछिल्लो साढे पाँच महिनामै ३ हजार ८० जनाले आफू ठगिएको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् । यो तथ्यले अनलाइन स्क्याम कति तीव्र गतिमा फैलिरहेको छ भन्ने स्पष्ट देखाउँछ । उजुरीको संख्या हेर्दा यो समस्या केही व्यक्तिमा सीमित नभई व्यापक रुपमा फैलिएको देखिन्छ । साइबर ब्युरोका अनुसार घरमै बसेर भिडियो हेरेबापत आम्दानी हुने, लाइक–सेयर गरेबापत पैसा पाइने, थोरै लगानीमा धेरै नाफा कमाइनेजस्ता प्रलोभन देखाएर सर्वसाधारणलाई ठगिएको छ । सुरुमा थोरै रकम फिर्ता दिएर विश्वास दिलाइन्छ र पछि ठुलो लगानी गराइएपछि एप बन्द हुने वा सम्पर्क विच्छेद हुने गरेको छ । यसरी सर्वसाधारणको लाखौं रुपैयाँ डुब्ने गरेको छ ।
साइबर ब्युरोको तथ्यांकअनुसार एसएमसी एपमार्फत ठगी भएको भन्दै २ सय ५५ उजुरी परेका छन् । अनलाइन जबका नाममा ८ सय ३ जना ठगिएका छन् भने विभिन्न लट्रीमार्फत ४ सय २८ जना ठगिएका छन् । बैंक ह्याकिङ, वालेट ठगी, सोसल मिडिया ह्याक, अनलाइन किनमेल र अनलाइन गेममार्फत पनि ठगी भएका उजुरी छन् । चिन्ता लाग्दो पक्ष के छ भने शिक्षित र जागिरे वर्ग पनि सजिलै प्रलोभनमा परिरहेका छन् । बिनामिहिनेत छिटो पैसा कमाउने सोचले मानिस जोखिम नबुझी लगानी गरिरहेका छन् ।
साइबर ब्युरोमा उजुरीको चाङ लाग्नले नै ठगीको बदलिएको प्रवृत्ति देखाउँछ । यसमा अनुसन्धान, अन्तर्राष्ट्रिय समन्वय र कानुनी कारबाहीलाई अझ प्रभावकारी बनाउन ढिलाइ गर्नु हुँदैन । समस्या अनलाइन ठगीमा मात्र होइन, हाम्रो मानसिकतामा पनि छ । बिनामिहिनेत, रातारात धनी बन्ने लोभले मानिस विलापमा परिरहेका छन् । मोबाइल स्क्रिनमै देखिने आकर्षक अफरलाई तथ्य, जोखिम र कानुनी आधार नबुझी विश्वास गर्ने प्रवृत्तिले साइबर असुरक्षा बढाइरहेको छ । अनलाइन ठगी रोक्न राज्यको सक्रियता आवश्यक छ । साथै, सर्वसाधारण स्वयं सचेत नहुने हो भने यस्तो ठगी अझ फैलिँदै जानेछ । थोरै लगानीमा धेरै नाफा भन्ने भ्रमबाट मुक्त हुनु नै अहिलेको सबैभन्दा ठुलो सुरक्षा हो । साथै विद्यालय तहदेखि नै डिजिटल साक्षरतामा जोड दिनु आजको आवश्यकता हो ।