
२००७ सालमा न्युरोडको गणबहालमा खुलेको नेपाल आदर्श माध्यमिक विद्यालयले सात दशकपछि बल्ल महिला प्रधानाध्यापक पायो । चार वर्षअघि प्रधानाध्यापकका रूपमा विद्यालय छिरेकी करुणा प्रधान अहिले त्यही पुरानो विद्यालयलाई उत्कृष्ट बनाउने साधनामा छिन् ।
काठमाडौंको क्षेत्रपाटीकी बासिन्दा हुन्, प्रधान । उनले शिक्षण गरेकै २४ वर्ष बितिसक्यो । उनको शिक्षण सपना भने खेलौनासँग खेल्ने उमेर देखिकै हो । बाल्यकालमा उनका विद्यार्थी गुडिया हुन्थे । बन्द कोठामा अगाडि भएभरिका खेलौना राखेर तिनै गुडियालाई पढाउँथिन् ‘क, ख, ग ।’
पढाउँदा पढाउँदै हल्ला गरेकोभन्दै लठ्ठीले कुनै एक गुडियालाई मानिसलाई झैं पिट्न थाल्थिन् । त्यसबखतको उनको लठ्ठी थियो पेन्सिल । मुस्कुराउँदै बाल्यकाल सम्झिएकी प्रधान भन्छिन्, ‘त्यसरी गुडियाहरू राखेर पढाउँथे तर प्यासन नै त्यहीँ रहेछ भन्ने अहिले बुझ्दै छु ।’
त्यही सपनालाई पछ्याउँदै कक्षा १० बाटै ट्युसन पढाउँदै शिक्षण यात्रा सुरु गरेकी करुणा आज एउटा कुशल प्रधानाध्यापक बनेकी छन् । उनले लामो समय ट्युसन पढाइन् । शिक्षण उनको इच्छा मात्र थिएन, आर्थिक रूपमा सबल बनाउने माध्यम पनि थियो । ट्युसनपछि उनी निजी विद्यालयतर्फ मोडिइन् । त्यहाँ उनले आठ वर्ष काम गरिन् । पछि शिक्षाक सेवा आयोग पास गरेर नेपाल आदर्श माविको शिक्षक बनिन् । १६ वर्षअघि सामान्य शिक्षकका रूपमा प्रवेश गरेकी प्रधान अहिले प्रधानाध्यापक भएकोमा गर्व गर्छिन् । उनको खुबी, व्यवहार, आँट र कौशलले उनलाई एउटा पुरानो विद्यालयको प्रधानाध्यापक बनाएको छ । लामो समय एउटै शैलीमा चलेको विद्यालयलाई अगाडि बढाउन नयाँ व्यक्तिका रूपमा व्यवस्थापनले आफूलाई छनोट गरेको उनी बताउँछिन् । ‘प्रधानाध्यापक चयनको कुरा चलिराखेको थियो । सबैको सहमतिमा मलाई नियुक्त गरियो,’ प्रधान भन्छिन् ।
महिला प्रधानाध्यापक हुँदा सहकर्मीहरूसँग बढी सकारात्मक र सहकार्य भएको प्रतिक्रिया पाएको उनी बताउँछिन् । यसले महिला पनि राम्रो नेतृत्व गर्न सक्छन् भन्ने हौसला पाएको उल्लेख गर्दै उनी भन्छिन्, ‘विद्यालय सुधार एउटा टिम वर्क हो । सबैको साथ सहयोगमा मैले मिहेनत गरिरहेको छु । नतिजा आउन पक्कै समय लाग्छ ।’