
दोहा, कतार : बागलुङमा जन्मिएर हाल कतारमा विभिन्न पेशा–व्यवसायमा संलग्न व्यक्तिहरूको सक्रियतामा स्थापित बागलुङ सेवा समाज दोहा, कतारको १४औं अधिवेशन उद्घाटन र बन्द गरी दुई चरणमा सफलतापूर्वक सम्पन्न भएको छ ।
शुक्रबार दोहाको अब्दुल अजिजस्थित घरवा रेस्टुरेन्टको सभा हलमा सम्पन्न अधिवेशनले तमानखोला गाउँपालिका–२ निवासी टेक रसाइलीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।

नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा झपेन्द्र सापकोटा (बागलुङ नगरपालिका–४) र द्वितीय उपाध्यक्षमा चेतन पुन (बढिगाड गाउँपालिका–१) चयन भएका छन् । उपाध्यक्षहरूमा छम परियार (काठेखोला गाउँपालिका–५), मदन जीसी (बढिगाड गाउँपालिका–७), हिरा विक (निसीखोला गाउँपालिका–१) र कृष्ण गिरी (जैमिनी नगरपालिका–५) रहेका छन् ।
सचिवमा सुवास पौडेल (बागलुङ नगरपालिका–१४) चयन हुँदा सहसचिवमा बाबु कौशल (बागलुङ नगरपालिका–६) र कृष्ण सापकोटा (बागलुङ नगरपालिका–६) रहेका छन् । कोषाध्यक्षमा दीपक चालिसे (जैमिनी नगरपालिका–७) र सह–कोषाध्यक्षमा विनोद आचार्य (जैमिनी नगरपालिका–५) तथा तारा बिसी (बरेङ गाउँपालिका–३) चयन भएका छन् । सांस्कृतिक संयोजकको जिम्मेवारी राजन परियार (गलकोट नगरपालिका–५) लाई दिइएको छ ।

कार्यसमिति सदस्यहरूमा तोपलाल जैसी, सुनिल गौतम, श्रीप्रसाद विक, डम्मरबहादुर विक, देवबहादुर रसाइली, सकबहादुर विक, विशाल विक, ओमप्रकाश विक, झोकेन्द्र विक, बिसन बिसी, पदम बिटालु, बागमती आदै मगर, गोकुल विक, तेजेन्द्र रसाइली, धनबहादुर रसाइली, रितु कुँवर, छमबहादुर विक र प्रकाश घिमिरे रहेका छन् ।
नव निर्वाचित कार्यसमितिलाई बागलुङ सेवा समाज दोहा कतार अक्षयकोषका अध्यक्ष तथा निर्वाचन समितिका सदस्य सन्तोष पौडेलले पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए । शपथपछि नवनिर्वाचित अध्यक्ष रसाइलीले कतारदेखि नेपालसम्म संस्थागत सहकार्य गर्दै समाजको हितमा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।

अधिवेशनको उद्घाटन सत्र समाजका अध्यक्ष निराजन गौतमको सभाध्यक्षता तथा समाजका संरक्षक एवं युवा व्यवसायी रमेश भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सो अवसरमा बागलुङको पश्चिम भेगमा प्रचलित नौमती पञ्चेबाजाको पहिलोपटक पूजा गर्दै समुद्घाटन गरिएको थियो । नौमती बाजाको महत्व र आवश्यकताबारे समाजका उपाध्यक्ष छम परियारले प्रकाश पारेका थिए ।
प्रमुख अतिथि भट्टले समाजले नयाँ र फरक शैलीमा उल्लेखनीय कार्य गर्दै आएको भन्दै प्रशंसा व्यक्त गरे । उनले नयाँ कार्यसमितिले अझ रचनात्मक र प्रभावकारी काम गर्ने विश्वास व्यक्त गरे ।

खुला सत्रमा समाजका कोषाध्यक्ष कृष्ण गिरीले आयव्यय विवरण र सचिव मदन जीसीले पछिल्लो दुई वर्षमा सम्पन्न गतिविधि समेटिएको संस्थागत प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा यामुना पटेल, रेश्मी सेन्चुरी, तारा बिसी, सम्झना तामाङ, सुस्मिता मगर, देव विक, झपेन्द्र बिसी र बाबुराम रम्तेललगायत कलाकारहरूको सांगीतिक प्रस्तुति रहेको थियो । कलाकारहरूलाई पारिश्रमिकसहित सम्मान गरिएको थियो भने पत्रकारहरूलाई पनि सम्मान प्रदान गरिएको थियो ।

कतारमा स्थापित विभिन्न संघ–संस्थाका प्रतिनिधि, समाजसेवी, बौद्धिक व्यक्तित्व तथा बागलुङेहरूको उल्लेख्य उपस्थिति रहेको अधिवेशनमा वक्ताहरूले बागलुङ पर्यटनको प्रचुर सम्भावना बोकेको जिल्ला भएको उल्लेख गर्दै कतारमा बागलुङ भलिबलको गढका रूपमा चिनिने गरेको स्मरण गराए ।
समाजका संस्थापक तथा वर्तमान कार्यसमितिका संरक्षक होमनाथ शर्माले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा बागलुङ क्षेत्र नम्बर–१ बाट प्रत्यक्ष उम्मेदवारी दिने निर्णय गरेको प्रसंग उल्लेख गर्दै कतारको नेपाली समाज र बागलुङ सेवा समाजप्रति आभार व्यक्त गरे ।

अधिवेशनको खुला सत्रको सहजीकरण सहसचिव सुवास पौडेलले गरेका थिए भने समापन गर्दै सभाध्यक्ष गौतमले कार्यकालभर सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्दै आफू निवर्तमान भए पनि समाजसँग निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त गरे ।

