
दम्माम, साउदी अरब : गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरबको सहकार्य तथा नेपाली दूतावास, रियादको आयोजनामा साउदी अरबको पूर्वी प्रान्त दम्माममा नवीकरण भएर आएका राहदानी वितरण कार्यक्रम सम्पन्न भएको छ ।
साउदी अरबको प्रमुख औद्योगिक क्षेत्र दम्माममा ९ जनवरीमा आयोजित उक्त कार्यक्रममा ८८० जना नेपाली सेवाग्राहीलाई नवीकरण भई आएका राहदानी वितरण गरिएको हो ।
राहदानी वितरण कार्यक्रम नेपाली दूतावास, रियादका श्रम काउन्सेलर कविराज उप्रेतीको नेतृत्वमा सम्पन्न भएको थियो । कार्यक्रममा तृतीय सचिव दिनेश सिवाकोटी, स्थानीय कर्मचारी अद्बुल राई तथा पूर्वी क्षेत्रका अवैतानिक प्रतिनिधि अस्कर अलीको उपस्थिति रहेको थियो ।

नवीकृत राहदानी वितरण शिविर टाइम्स ट्राभल, दम्माममा आयोजना गरिएको थियो । शिविरको व्यवस्थापन तथा स्वयंसेवक परिचालनमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरबले विभिन्न सामाजिक तथा राजनीतिक संघ-संस्थाहरूसँग समन्वय गरेको जनाएको छ ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ साउदी अरबका अध्यक्ष उमेश भट्टराई, महासचिव शुक्र मोक्तान, उपाध्यक्ष विष्णु भण्डारी, युवा संयोजक पदम महतसहित विभिन्न सामाजिक तथा राजनीतिक संघ–संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
शिविरलाई सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण स्वयंसेवक, संघ–संस्था तथा व्यक्तिहरूप्रति सेवाग्राहीहरूको तर्फबाट आयोजक पक्षले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ ।
