
बझाङ : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि बझाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
जिल्लाकाे सदरमुकाम चैनपुरस्थित जिल्ला अदालत परिसरमा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । बझाङ जिल्ला अदालतका न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत सुवर्णमान बनेपालीले कार्यालय उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि निर्वाचन कार्यक्रम औपचारिक रूपमा सुरु भइसकेको जानकारी दिए ।
मुख्य निर्वाचन अधिकृत बनेपालीले निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न सरोकारवाला सबै पक्षको सहयोग आवश्यक रहेको बताए । उनले निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधि तोकिएको कार्यतालिका अनुसार अघि बढाइने उल्लेख गरेका छन् ।
