२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

रुकुम पश्चिममा उम्मेदवारको साझा प्रतिबद्धता

shivam cement
प्रचण्ड खत्री
२०८२ माघ ७ गते २०:५४
Shares
रुकुम पश्चिममा उम्मेदवारको साझा प्रतिबद्धता

रुकुम पश्चिम : रुकुम पश्चिमका विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले आगामी निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने साझा प्रतिबद्धता जनाएका छन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार मुसिकोटमा आयोजना गरेको निर्वाचन आचार संहिता तथा अनुगमनसम्बन्धी बैठकमा सहभागी हुँदै उम्मेदवारहरूले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । 

बैठकमा निर्वाचन आयोगबाट स्वीकृत निर्वाचन आचार संहिता २०८२ अनुसार निर्वाचनलाई पारदर्शी र निष्पक्ष बनाउन सबै राजनीतिक दल तथा उम्मेदवार सचेत हुनुपर्ने निष्कर्ष निकालिएको थियो । विगतका निर्वाचनमा देखिएका कमी–कमजोरीलाई आत्मसात गर्दै यसपटकको निर्वाचनलाई थप जिम्मेवार ढंगले सम्पन्न गर्नुपर्नेमा उम्मेदवारहरू एकमत देखिएका छन् । 

निर्वाचन आचार संहितासम्बन्धी अन्तरक्रिया तथा छलफलका क्रममा सहभागी उम्मेदवार र दलका प्रतिनिधिहरूले यसपटकको निर्वाचन सरल, सहज र विवादरहित बनाइनुपर्ने बताएका छन् । त्यसका लागि राजनीतिक दल र उम्मेदवारहरूले नै निर्वाचन आचार संहिताको पूर्ण रूपमा पालना गर्नुपर्नेमा जोड दिइएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुकुम पश्चिमबाट प्रत्यक्षतर्फ १२ जनाको उम्मेदवारी परेको छ । सोही सन्दर्भमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारहरूलाई सहभागी गराई निर्वाचन आचार संहिता र अनुगमनसम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । 

कार्यक्रमले जिल्लामा शान्तिपूर्ण र मर्यादित निर्वाचन वातावरण निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर