२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

फेरियो कमल पोखरीको स्वरूप, बन्यो थकान मेट्ने थलो

shivam cement
सपना बोहरा
२०८२ माघ १२ गते ०६:३०
Shares
फेरियो कमल पोखरीको स्वरूप, बन्यो थकान मेट्ने थलो

काठमाडौं : दिउँसो २ बजेको समय । केही सरकारी कर्मचारी कमल पोखरी परिसरमा पुगे र एक फन्को लगाएर पोखरीको सिँढीमा केही समय आश्रम गरेर फर्किए । 

सहरको कोलाहलबाट मुक्ति पाउन र पोखरीको शान्त अनि मनोरम वातावरणमा रमाउन अचेल कमलपोखरी घुम्न आउनेको संख्या बढ्दै गएको छ । काठमाडौं महानगरपालिका–१ मा रहेको कमलपोखरी स्थानीय, कर्मचारी, व्यापारी, विद्यार्थीलगायत धेरैका लागि विश्राम गर्ने र मन शान्त पार्ने ठाउँ बनेको छ । 

जापानिज भाषा सेन्टरमा काम गर्ने गौशालाकी मनीषा सुवेदी थकाइ लागेकाबेला कमलपोखरीमा आएर समय बिताउँदा आनन्द लाग्ने बताउँछिन् । ‘यहाँ आउँदा आनन्द लाग्छ, मुड फ्रेस हुन्छ,’ उनले भनिन्, ‘अलिकति तनाव, थकान भयो भने म यही आउँछु ।’ 

त्यस्तै, एमबिबिएस अध्यनरत प्रवेश दाहाल पनि फ्रेस हुन प्रायः कमलपोखरी आउँछन् । उनी त्यहाँ आएर शान्त भएर बस्छन् । ‘कलेजमा अध्ययन धेरै गर्नुपर्छ, दिमाग नै फुट्लाजस्तो हुन्छ,’ उनले भने, ‘यहाँ आएर केही समय बिताउँदा पनि छुट्टै आनन्द मिल्छ ।’

आजभोलि कमलपोखरी मेडिटेसन गर्ने ठाउँजस्तै भएको छ । शान्त ठाउँ खोज्दै थुप्रै मानिस यहाँ आउँछन् । बिहान मर्निङ वाकदेखि साँझपख सन्ध्याकालीन हिँडडुल गर्नेबेलासम्म पोखरी वरपर चहलपहल हुन्छ । पानीले भरिएको पोखरी, वरिपरि आकर्षक बुट्टेदार पाटीपौवा र बोटबिरुवाको हरियाली । कोलाहलपूर्ण सहरको बीचमा शान्त छ, कमल पोखरी । सँगै व्यायामशाला पनि बनाएको छ । पिउने पानी र शौचालयको पनि व्यवस्था गरिएको छ । 

कमल पोखरी काठमाडौंको केन्द्रमा रहेको प्रसिद्ध पोखरी हो । यसले धार्मिक र सांस्कृतिक महत्व बोकेको छ । कुनैबेला कमल फुल्ने भएकाले यसको नाम कमलपोखरी राखिएको स्थानीय बताउँछन् । तर अहिले यहाँ कमल फुल्दैन । २०७२ को महाभूकम्पले क्षति भएको यो पोखरीको काठमाडौं महानगरपालिकाले पुनर्निर्माण गरिरहेको छ । निर्माणको काम करिब–करिब अन्तिम चरणमा छ । २०३३ सम्म यो पोखरी ४६ रोपनीमा  थियो । पोखरीको जग्गा सत्ता र शक्तिको आडमा विभिन्न व्यक्तिले हडपेसँगै क्षेत्रफल साँघुरिएको हो । अहिले आधा घटेर २३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको काठमाडौं महानगरपालिका नगर कार्यपालिकाको कार्यालय वडा नम्बर १ का वडा अध्यक्ष भरतलाल श्रेष्ठ बताउँछन् । ‘पहिला बेवारिसे र फोहोर जमेको पोखरी थियो,’ वडाध्यक्ष श्रेष्ठले भने, ‘त्यही पोखरीलाई परम्परागत, सांस्कृतिक र पर्यटकीय रूपमा विकास गरिएको छ ।’ 

काठमाडौं महानगरपालिकाका क्षेत्रभित्र रहेका सांस्कृति, ऐतिहासिक तथा पुरातात्विक सम्पदाको  संरक्षण तथा पुनर्निर्माण गर्ने नीति पूर्वमेयर विद्याशुन्दर शाक्यले ल्याएका थिए । सोहीअनुरूप २०७८ साल चैत २ गते शाक्यले पोखरी पुनःनिर्माण शिलान्यास गरेका थिए । कमलपोखरीमा चारवटा कुनामा आकर्षक र संस्कृति झल्किने चारवटा मण्डप र पूर्वतिर मूलढोकासँगै एउटा गरी पाँचवटा मण्डप राख्ने योजना शाक्यको थियो । सोही योजनालाई महानगरले अहिले मूर्तरूप दिएको छ । काठमाडौं महानगरपालिकाले कमल पोखरी वरिपरि चिल्ड्रेन पार्क, ढुंगेधारा, अपांगमैत्री शौचालय, जिम हल, उद्यान र सार्वजनिक स्थलसहितको डिजाइन तयार पारेको छ । करिब ७ करोड लगानीमा निर्माण भइरहेको उक्त पोखरी वास्तुशास्त्रमा आधारित भएर निर्माण भइरहेको पनि महानगरपालिकाले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर