२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

दोलखाका हिमाली भेग हिउँले सेताम्मे, तल्लो क्षेत्र वर्षाको प्रतीक्षामा

shivam cement
राजकुमार भुजेल
२०८२ माघ १४ गते २१:०७
Shares
दोलखाका हिमाली भेग हिउँले सेताम्मे, तल्लो क्षेत्र वर्षाको प्रतीक्षामा

दोलखा : मौसमका परिवर्तनशील संकेतहरूमध्ये सबैभन्दा रोमान्चक दृश्य मानिन्छ हिमपात । यही दृश्यले बुधबार दोलखाका उच्च हिमाली क्षेत्रहरू फेरि एकपटक सेताम्य बनायो । 

बिहानै हल्का हिउँ खसेर पहाडका चुचुराहरू झलमल्ल चम्किरहेका बेला साँझपख पुनःबाक्लो हिमपात सुरु भएपछि कालिञ्चोक, शैलुङ, बेदिङ र वरपरका हिमाली गाउँहरू चहकिलो हिउँको चादरले ढाकिए ।

हिउँ पर्नासाथ कालिञ्चोकको रूप नै बदलिएको छ । मन्दिर परिसरदेखि छेउछाउका चुचुरासम्म ताजा हिउँ थुप्रिँदा वातावरण स्वच्छ, उज्यालो र मनमोहक बनेको छ । कालिञ्चोक, जहाँ हिउँ खेल्न दशैं–तिहारझै महत्व राखिन्छ, त्यहाँ हिउँ परेपछि पर्यटन व्यवसायीहरू उत्साहले भरिएका छन् ।

तराई तथा काठमाडौं उपत्यकाबाट हिउँ हेर्न र फोटो खिच्न आउने भीड बढ्ने अपेक्षाले स्थानीय होटल, लज र व्यवसायीहरूले सेवासुविधा थप तयारीका साथ अगाडि बढाएका छन् ।

विगतका वर्षमा हिउँ परेपछि बढ्ने पर्यटक आगमनले व्यवसायमा आएको उछालले उनीहरू अहिले नै व्यस्त हुन थालेका छन् । तर, हिउँको खुशी तल्लो क्षेत्रका किसानले भने महसुस गर्न सकेका छैनन् ।

दोलखाको तल्लो भेगमा परेको वर्षा सामान्य मात्र भएकाले खेतबारी नभीजेको किसानको गुनासो छ । खेतमा समुचित पानी नपुगेपछि अन्नबाली, तरकारी तथा तयारीमा रहेका बालीहरूमा असर पर्न सक्ने भन्दै स्थानीयहरू चिन्तित बनेका छन् । 

उनीहरूको अपेक्षा अहिले हिउँदे वर्षाप्रति केन्द्रित छ, ताकि बालीहरू बच्न सकूँन् र उत्पादनमा कमी नओस् । हिमपात र हिउँदे वर्षासँगै दोलखामा चिसो उल्लेख्य रूपमा बढेको छ ।

बिहान–साँझ कठ्यांगिँदो चिसो महसुस हुने गरेको छ । विद्यालय, कार्यालयदेखि सर्वसाधारणको दैनिक गतिविधिमा समेत प्रभाव परेको स्थानीयहरूको भनाइ छ । यद्यपि उच्च पहाडमा परेको हिउँले पर्यटनलाई बलियो ऊर्जा दिएपनि तल्लो क्षेत्रमा पर्याप्त वर्षा नहुँदा किसानको मनमा भने अनिश्चितताको बादल मडारिएको छ । 

ताजा खबर

सम्बन्धित खबर