२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

नेकपा रुकुम पश्चिमको संकल्प पत्र सार्वजनिक

shivam cement
प्रचण्ड खत्री
२०८२ माघ १५ गते २१:४३
Shares
नेकपा रुकुम पश्चिमको संकल्प पत्र सार्वजनिक

रुकुम पश्चिम : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रुकुम पश्चिमले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आफ्नो संकल्प पत्र सार्वजनिक गरेको छ । बिहीबार मुसिकोट नगरपालिका–शेरिगाउँमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीले चुनावी संकल्प पत्र सार्वजनिक गरेको हो । जिल्लामा चुनाव लक्षित संकल्प पत्र सार्वजनिक गर्ने नेकपा पहिलो दल बनेको छ ।

पार्टीका केन्द्रीय सदस्य तथा रुकुम पश्चिम निर्वाचन परिचालन समितिका संयोजक वसन्तकुमार शर्माले संकल्प पत्र सार्वजनिक गरेका हुन् । ‘शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधारः आत्मनिर्भर रुकुम (पश्चिम भाग)को आधार’ भन्ने मुख्य नारासहित तयार गरिएको सङ्कल्प पत्रमा पाँच वटा विषयगत क्षेत्रलाई समेटेर जिल्लाको विकास मार्गचित्र प्रस्तुत गरिएको छ ।

संकल्प पत्रमा पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ । यस अन्तर्गत बस्तीदेखि वडा केन्द्र र वडा केन्द्रदेखि पालिका केन्द्रसम्म सडक विस्तार तथा बाह्रै महिना सञ्चालन हुने गरी स्तरोन्नति गर्ने, राप्ती लोकमार्गको झुल्नेटा–छरेबगर खण्ड निर्माण सम्पन्न गर्ने, रणनीतिक महत्वका सडकको निर्माण तथा स्तरोन्नति गर्ने र आवश्यक स्थानमा सडक तथा झोलुंगे पुल निर्माण गर्ने उल्लेख गरिएको छ ।

खानेपानीतर्फ ‘एक घर, एक धारा’ अभियानलाई पूर्णता दिँदै सबै नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउने, खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गर्ने, लिफ्टिङ प्रविधिबाट सिँचाइ प्रणाली विकास गर्ने तथा सम्पूर्ण बस्तीमा विद्युत् सेवा विस्तार गर्ने संकल्प गरिएको छ । भेडाखेतलगायत स्थानमा विद्युत् सब–स्टेसन निर्माण र जिल्लामा १३२ केभी प्रसारण लाइन विस्तार गर्ने योजना पनि समेटिएको छ ।

सहरी विकासतर्फ राडी–सिमबजार, छिनखेत, पेदी, सिम्रुतु, सोलाबाङ, झुल्नेटा र चौफा क्षेत्रलाई ग्रामीण सहरका रूपमा विकास गर्ने, चौरजहारीमा निर्माणाधीन नयाँ सहर आयोजनालाई तीव्रता दिने र जिल्ला सदरमुकामलाई सहरीकरण गर्ने कार्यक्रम अघि सारिएको छ । साथै जलविद्युत् उत्पादनलाई प्राथमिकता दिँदै स्यार्पू हाइड्रोपावर निर्माण सम्पन्न गरी स्थानीयलाई सेयरमार्फत आम्दानीको अवसर प्रदान गर्ने उल्लेख छ ।

सूचना तथा सञ्चार क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवा विस्तार गर्ने, सञ्चार संस्था तथा सञ्चारकर्मीको पेसागत आत्मनिर्भरता अभिवृद्धिका लागि कार्यक्रम सञ्चालन गर्ने योजना राखिएको छ । शिक्षा क्षेत्रमा हरेक पालिकामा गुणस्तरीय शैक्षिक केन्द्र स्थापना गर्ने र सबै विद्यालयमा पक्की तथा सुविधायुक्त भवन निर्माण गर्ने जनाइएको छ ।

स्वास्थ्यतर्फ जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने, पालिका अस्पतालमा आवश्यक जनशक्ति र प्रविधि व्यवस्था गर्ने, मोबाइल अस्पताल सञ्चालन गर्ने र टेलिमेडिसिन सेवामार्फत विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ । साथै मौलिक लोकसंस्कृतिको संरक्षण र प्रवद्र्धनका कार्यक्रम पनि सञ्चालन गरिनेछ ।

युवा तथा खेलकुद क्षेत्रमा सबै पालिकामा खेल मैदान निर्माण र प्रस्तावित रंगशाला सम्पन्न गर्ने, पर्यटन विकासतर्फ स्यार्पू तालमा इको–टुरिजम, भेरी नदीमा साहसिक जलयात्रा, सिस्ने राउण्ड पदमार्ग, गुरिल्ला ट्रेल रेस, जनयुद्ध संग्रहालयलाई युद्ध पर्यटनको रूपमा विकास गर्ने योजना समावेश गरिएको छ ।

कृषि तथा पशुपालन क्षेत्रमा आधुनिक कृषि प्रविधि, उन्नत बीउ–विजनको प्रयोग, कृषि उपजको भण्डारण, प्रशोधन र बजारीकरण, कृषिमा आधारित साना उद्योग स्थापना तथा वैरागी ठाँटीमा निर्माणाधीन दुग्ध उद्योगलगायत उद्योग सञ्चालनमा ल्याउने विषयलाई पनि प्राथमिकताका साथ समेटिएको छ ।

कार्यक्रममा बोल्दै प्रत्यक्ष उम्मेदवार गोपाल शर्माले रुकुम पश्चिमको समग्र विकासलाई लक्ष्य गरी सङ्कल्प पत्र तयार गरिएको र निर्वाचित भएपछि गम्भीरताका साथ कार्यान्वयन गरिने बताए । समानुपातिक उम्मेदवार झक्कुप्रसाद घर्ती, नेकपाका केन्द्रीय कार्यालय सचिव गणेशमान पुनलगायत नेताहरूको कार्यक्रममा सहभागिता रहेको थियो । पत्रकार सम्मेलनको सञ्चालन पार्टीका केन्द्रीय सदस्य गोविन्द रोका सचिनले गरेका थिए ।

सम्बन्धित खबर