
रुकुम पश्चिम : आगामी स्थानीय चुनावलाई लक्षित गर्दै रुकुम पश्चिमका विभिन्न वडामा राजनीतिक दलहरू सक्रिय बनेका छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले जिल्लाका ७३ वडामा आफ्नो पहुँच बढाउँदै गाउँ–गाउँमा प्रवेश गरेको छ ।
मुसिकोट नगरपालिकाका सबै वडामा चुनावी कार्यक्रम सम्पन्न गरिसकेको नेकपा अहिले बाँफिकोट गाउँपालिकामा प्रवेश गरेको छ । नेकपाका उम्मेदवार गोपाल शर्मा र उनका सहकर्मीहरू बिमला केसी, ठकेन्द्र पुरी, वसन्त शर्मा, गोबिन्द रोकालगायत टोलीसहित गाउँमा जनता भेटघाट तथा कार्यक्रममा व्यस्त रहेका छन् ।
आफ्नो एजेन्डा जनता माझ राख्न र स्थानीय समस्याहरू बुझ्न गाउँमा प्रवेश गरेको बताउँदै शर्माले नेकपा अहिले सबै दलभन्दा बलियो स्थितिमा रहेको दाबी गरे ।
यसैबीच, नेपाली कांग्रेसले पनि सक्रियता देखाएको छ । उम्मेदवार राजु केसीको नेतृत्वमा कांग्रेसका नेता र कार्यकर्ताहरू ६ वटा स्थानीय तह भ्रमण गरी जिल्ला समितिको बैठक सम्पन्न गरिसकेका छन् । कांग्रेस पनि केही दिनभित्र वडा तहमा पुगेर चुनावी कार्यक्रम सञ्चालन गर्ने तयारीमा रहेको बताएको छ ।
त्यस्तै, प्रलोपाका उम्मेदवार जनार्दन शर्मा (प्रभाकर) सबै स्थानीय तह भ्रमण गरी जिल्ला फर्किसकेका छन् । प्रलोपाले रुकुम पश्चिममा नेकपा एमालेसँग चुनावी सहकार्य गरेको छ ।
बिहीबारदेखि उनीहरूले चौरजहारीबाट संयुक्त चुनावी सभा सुरु गरेका छन् । प्रलोपा–एमालेको संयुक्त चुनावी कमान्डरका रूपमा एमालेका जिल्ला अध्यक्ष नन्दराम देवकोटा कार्यरत छन् ।
तीन प्रमुख दलहरूको सक्रियतासँगै रुकुम पश्चिममा आगामी चुनावको माहोल चर्किएको छ । जनता भेटघाट, सभा र कार्यक्रम मार्फत आफ्नो एजेन्डा प्रस्तुत गर्न दलहरू जोर–शोरसहित गाउँ–गाउँ पुगिरहेका छन् ।