
रुकुम पश्चिम : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रुकुम पश्चिमका तर्फबाट प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार गोपाल शर्मा ‘अनल’ले संघीय संसदमा आफ्नो उम्मेदवारी पहिलो र अन्तिम भएको बताएका छन् ।
शनिबार बाँफिकोट गाउँपालिका वडा नम्बर ६, ४ र ५ मा आयोजित नेता–कार्यकर्ता तथा मतदातासँगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उम्मेदवार शर्माले कर्णाली प्रदेशसभा सदस्य तथा मन्त्री पदमा काम गरिसकेको अनुभव उल्लेख गर्दै संघीय तहमा आफ्नो उम्मेदवारी दोहोरिने नभएको स्पष्ट पारे ।
कार्यक्रममा उनले प्रदेशसभा सदस्य रहँदा नै आफू दोहोरिएर उम्मेदवार नबन्ने प्रतिबद्धता जनाएको स्मरण गर्दै पार्टीभित्र नयाँ नेतृत्वलाई अवसर दिनुपर्ने धारणा राखे ।
पूर्व सहकर्मी तथा हालका प्रतिस्पर्धी जर्नादन शर्माप्रति संकेत गर्दै उनले पटक–पटक उम्मेदवार बन्नुपर्छ भन्ने सोच आफ्नो नभएको बताए । ‘एक कार्यकाल जनताको प्रतिनिधि भएर जिम्मेवारी पूरा गर्ने हो, बारम्बार उम्मेदवार बन्ने होइन, नयाँ साथीहरूलाई अवसर दिनुपर्छ,’ उम्मेदवार शर्माले भने ।
रुकुम पश्चिममा नेकपाको संगठन सुदृढ रहेको दाबी गर्दै उनले पार्टीको संगठनात्मक शक्तिकै आधारमा ठूलो मतान्तरले निर्वाचन जित्ने विश्वास व्यक्त गरे ।
नेकपाले मुसिकोट नगरपालिकामा चुनावी भेटघाट कार्यक्रम सम्पन्न गरी बाँफिकोट गाउँपालिकाबाट अभियान सुरु गरेको जनाएको छ । पार्टीका अनुसार जिल्लाका सबै ७३ वडामा चुनावी अभियान सञ्चालन गरिने छ ।