
रुकुम पश्चिम : कुनै समय एउटै पार्टी र एउटै जिम्मेवारीमा सहकार्य गरेका नेताहरू अहिले रुकुम पश्चिमको चुनावी मैदानमा आमनेसामने भएका छन् । तत्कालीन नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा (प्रभाकर) र केन्द्रीय सदस्य गोपाल शर्मा (अनल) अहिले फरक–फरक राजनीतिक धारबाट निर्वाचन प्रतिस्पर्धामा छन् ।
जनार्दन शर्मा गृहमन्त्री रहँदा गोपाल शर्मा गृह मन्त्रालयका मुख्य सचिवका रूपमा कार्यरत थिए । त्यसबेला पार्टीका कार्यक्रमदेखि गृह जिल्लाका गतिविधिसम्म अनलले प्रभाकरका नजिकका सहकर्मीका रूपमा भूमिका निर्वाह गरेका थिए । पार्टीका कुनै पनि कार्यक्रममा सहभागी हुँदा होस् वा गृह जिल्ला भ्रमणका क्रममा, गोपाल शर्माले सहयोगीको जिम्मेवारी सम्हाल्ने गरेका थिए ।
तर नेपाली कम्युनिष्ट पार्टी एकीकरणका बेला जनार्दन शर्मा सहभागी भएनन् । उनले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोप) गठन गर्दै संरक्षकको भूमिका सम्हाले । जेनजी आन्दोलनपछि देश चुनावी माहोलमा प्रवेश गरेसँगै यी दुई पूर्व सहकर्मी फरक–फरक दलको प्रतिनिधित्व गर्दै पुनः राजनीतिक प्रतिस्पर्धामा उत्रिएका हुन् ।
आगामी निर्वाचनमा गोपाल शर्मा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट रुकुम पश्चिमका उम्मेदवार बनेका छन् भने जनार्दन शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेका छन् । कहिल्यै नछुट्ने सहयात्री मानिएका यी दुई नेताबीच अहिले आरोप–प्रत्यारोप तीव्र बनेको छ ।
चुनावी मैदानमा दुवै शर्मा सक्रिय छन् । गाउँ–गाउँ पुगेर जनतासँग भेटघाट गर्दै आफ्ना प्रतिबद्धता सुनाइरहेका छन् । गोपाल शर्माले कम्युनिष्ट आन्दोलनको ‘लाल किल्ला’ जोगाउनुपर्ने आवश्यकता औंल्याउँदै मत मागिरहेका छन् भने जनार्दन शर्मा चुनाव जितेर पुनः संसद प्रवेश गर्ने लक्ष्यसहित मतदाताको ढोका ढकढक्याइरहेका छन् ।
यसअघि कर्णाली प्रदेशका अर्थमन्त्री भइसकेका गोपाल शर्माले आफ्नो कार्यकालमा रुकुम पश्चिमका थुप्रै अधुरा योजनालाई पूर्णता दिएको दाबी गर्दै आएका छन् । कम्युनिष्ट आन्दोलनको विरासत जोगाउने उद्देश्यसहित आफू चुनावी मैदानमा उत्रिएको उनको भनाइ छ ।