–दिपेन सरोवर
‘यात्रु महानुभावहरु, केही क्षणमै हामी काठमाडौं विमानस्थलमा अवतरण गर्दैछौं ..।’ एअरहोस्टेजको अनाउन्समेन्टले बिउझिएँ । जिउ तन्काउदै घडी हेरेँ ८ बजेर १५ मिनेट गएछ । मुन्टो तानेर झ्यालबाट तल हेरेँ । हरिया डाँडाकाँडालाई सेतो पछ्यौरी ओढाएको जस्तै कुहिरोले ढपक्क छोपेको थियो ।
बाक्लै घरहरुको बीचमा स–साना सडक देखिदै थियो । केहीबेरमै जहाजको पांग्र्राले भुइँ छोयो । ज्यान सकुशल नेपाल आइपुगेकोमा मन पुलकित थियो । आफ्नो देश र आफ्नो भाषा भएकाले होला मान्छेहरुको भीड मलाई आफन्त जस्ता लागिरहेका थिए । तर, अफसोच त्यही भीडमा मलाई आफन्त ठान्ने कोही थिएनन् । आफ्नै देशमा आफै बिरानो हुनुको पीडाले मनमा कतै चसक्क घोच्यो । लगेज धकेल्दै एअरपोर्ट बाहिर निस्किएँ ।
पुसको महिना घाम र बादल लुकामारी खेलिरहेझै गर्थे । जहाज चढ्नेबेला उता गर्मी थियो । टिसर्ट लगाएको थिएँ । चिसोले जिउ काप्न खोजिरहेको थियो । ज्याकेट लगेजमा तलतिर हालेको थिएँ । निकाल्ने झन्झट गर्न मन लागेन । ट्याक्सी र होटलका लागि तानातान गर्नेहरुको भिडबाट आफूलाई बचाउँदै एउटा ट्याक्सी समातेँ ।
होटलमा पुगेपछि लगेज एकातिर कुनामा थन्काएर बेडमा पल्टिएँ । काठमाडौं टेकेदेखि नै हो मन एकतमास भइरहेको थियो । मस्तिष्कको आर्काईभमा केही पुराना तस्बिर सलबलाईरहेका थिए । यस्तो लाग्दै थियो– मानौं रिसाइकलविनबाट एकाएक गर्दै यादहरु रिस्टोर भइरहेका छन् ।
झ्यालबाट बाहिर नियालेंँ । स्वयम्भूनाथको मन्दिर देखिन्थ्यो । त्यो सँगै बर्सौ अघि आफैले बाँचेको विगत र अनगिन्ती याद ठिङ्ग उभिइरहेको देखेँ । रूममा बसिरहन मनले मानेन । मोबाइल र पर्स पकेटमा हालें र स्वयम्भूतिर हानिएँ ।
उबेला म खुसिबु नयाँ बजार बसेर पढ्ने । ऊ बाफल । हाम्रो भेट हुने सेन्टर थियो, स्वयम्भू । फोन सम्पर्कबाट भएको चिनजान र गफगाफले अरु बढी आत्मियता पाउन थालेपछि पहिलो पल्ट भेटेका थियौं, स्वयम्भूमा । साहित्यप्रति उसको झुकाव र मेरो लगावले नै थियो हामीलाई जोडेको । मैले केही थान उपन्यास लगिदिएको थिएँ । उसको लागि र उसले केही थान उपन्यास र गजलका किताबहरु ल्याईदिएकी थिइन्, मेरो लागि । त्यसपछिका थुप्रै बिहान, थुप्रै दिन र थुप्रै साँझ बिताएका थियौ, स्वयम्भू वरीपरी ।
मैले स्वयम्भूलाई एक फन्को लगाउदै गर्दा उसका यादहरुले मेरो मस्तिष्कमा सयौँ फन्को लगाइसकेका थिए । हिजो ऊ थिई साथमा । आज उसका यादहरु छन् । सोचेँ आखिर केही त हुँदो रहेछ साथ दिने जिन्दगीमा ।
हलचोकबाट नेपाल यातायात चढेँ । उ प्रायः नेपाल यातायात चढ्न मनपराउथी । सिटको कुनै कुनामा उसैगरी बसिरहेकी हुनसक्थी । सोचेँ भेट भइहाली भने के भनेर बोलौंला ! एकाअर्कालाई हेराहेर मात्रै पो गरौंला कि ! या अन्तिम पटक छुट्ने बेलामा जस्तै डाँको छोडेर रोऔंला ! हुन त कुनै जुनिमा पनि भेटिन नपरोस् भनेर छुट्टिएकी थिई उ र नभेटियोस नै भन्ने चहान्थें म ।
सुन्धारा पुगुञ्जेल बाटोमा आउने प्रत्येक परिदृश्यमा उ आई । काठमाडौं मलको अघिल्तिर उभिएर ओठमा असीमित खुसी लिएर जिन्दगी बाच्दै गरेका केही प्रेमिल जोडिहरुलाई नियालें । सोचेँ बिझाउने त सिर्फ आँखाको बाटो भएर मुटुमा बसेका केही मान्छेहरू न रहेछन् । प्रेम आफैमा बिझाउँने त कहाँ हो र !
नियतिले हामिलाई छुटायो । उ नयाँ खुसिहरु बोकेर नयाँ धरहरा जस्तै जिन्दगीको नयाँ उचाईमा अग्लिई । म पुरानो धरहरा जस्तै भग्नावशेष भएँ ।
बर्सौपछि उसका यादहरुलाई उही ठाउँमा अनुभुत गरेर साँझ अबेर फर्किएँ । यस्तो लाग्यो, काठमाडौंका हरेक गल्ली, चोक र पार्कहरुमा कतै हात समातेर यादहरु हिडेका थिए । कतै मन नलागी नलागी छुटेका यादहरु उभिएका थिए । कतै जिवनका रङहरु कोर्दै घण्टौं यादहरु गफिएर बसेका थिए । कहाँ पो थिइन र ऊनी ! यादैयादको यादमाण्डांैमा जो थिएँ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies