– त्रिपुरा पोखरेल, सिक्किम
बाहिरबाट ठूलो स्वरमा आवाज आयो । “दिदी, मेरी छोरीलाई तपाईंको साथमा लिएर गैहाल्नु, मेरी छोरी पनि सुध्रिने, हामीले पनि दुई÷चार रुपियाँ खेलाउन पाउने ।”
टिभीमा समाचार हेर्दैथिएँ, एउटा ठूलो आवाजले मेरो एकाग्रतालाई भङ्ग गरिदियो । झर्को लाग्दै भएपनि दैलोतिर आँखा घुमाएँ । कामतबाट फूलबारी गोडमेल गर्न मदनिया आएको रहेछ । हिजोसम्म म उसलाई चिन्दिनथें । भाइले फलानो बटियादारको छोरो भनेपछि मात्रै मैले उसलाई चिनेकी । उसको प्रश्नको जवाफमा “म भाइसँग सल्लाह गर्छु, अनिमात्र उसलाई लाने कि नलाने, त्यसबारे निधो दिन्छु है ।” मेरो कुरा पूर्णरूपले नसुनी ऊ अघि नै हिँडिहालेछ । लाने कि नलाने शब्द उसले बुझ्यो कि बुझेन भन्ने विचारले मलाई पिरल्यो ।
एकदिनको चिनजानमा नै उसले आफ्नी एउटै छोरीलाई मेरो साथमा किन पठाउँदै छ भन्ने कुराले मलाई अलमलमै पारेको थियो । उसले भोलिपल्टै आफ्नी छोरी लक्ष्मीलाई ल्याएर मेरो जिम्मा लगायो । मलाई भोक लागेको बेलामा ढुङ्गा मिसिएको गाँस फाल्नु कि उकेल्नु जत्तिकै भयो ।
“दिदी तँलाई साथी पनि हुन्छे लैजाँदा हुन्छ ।” भाइले लानु भन्ने सल्लाह दियो ।म पर्सिपल्ट आफ्नो घरतिर लागेँ । घरमा आइसकेपछि लक्ष्मीको मुखबाट थाहा पाएँ, गाउँका अल्लारे केटाहरु उसको पछि लागेका रहेछन् । छोरीलाई ती केटाहरुबाट जोगाउन मदनियाले उसलाई मेरो साथ लगाएर पठाएको रहेछ । उसको कुराले मलाई अन्योलमा पार्यो । “कतै लक्ष्मीका बाबुआमाले मलाई घाँडो त भिराएनन् ।” यो सोचले मेरो टाउकोमा मार्तोलले हानेर रनाहा छुटेको जस्तै भयो ।
“लक्ष्मी, तेरो बाबुले तँलाई यहाँ किन पठाएको नढाटी भन् त ?” मेलै केरकार गरेँ ।“गुण्डाहरु मेरो पछि लागेकाले मलाई यता पठाएको भनेर मैले अस्ति भनें त ।” उसले झर्को मानी ।
ऊ जतिको कुरौटे छे त्यतिकै कुरा लुकाउन खप्पिस छे । कोरोनाको विरुद्धमा लकडाउनको युद्ध चलिरहेको बेला म उसलाई घर पु¥याइदिन पनि सक्दिन । अब मेरो लागि भगवान् भरोसा बाहेक अर्को कुनै विकल्प रहेन । “यदि उसको चरित्रमा केही तलमाथि भएको अलिकति पनि छनक पाएँ भने म लक्ष्मीलाई उसको घर पठाइहाल्छु ।” मेरो फैसलाले मलाई विश्वस्त तुल्यायो ।
“लक्ष्मी अब तैँले पढ्नु पर्छ ल ।” मैले उसको हातमा वर्णमालाको किताब, कपी र सिसाकलम राखिदिएँ ।“मलाई गुदी भन्नु, मलाई यो नाम साह्रै मनपर्छ ।” उसले किताबहरु टेबलमा थन्काउँदै भनी । गुदी लक्ष्मीको अति नै मनपर्ने नाम । उसले शब्द बुझ्न थालेको दिनदेखि नै आमाबाबुको मुखबाट यही नाम सुन्दै आएकीले पनि होला ‘गुदी’ नाम उसको आदत नै भइसकेको छ । गुदीको अर्थ के हो भनेर मैले सोधेकी पनि छैन, उसले अरु पनि अनौठा शब्दहरुको प्रयोग गर्छे, म ती शब्दहरुलाई सच्याउने काम गर्दिन । उसका ठूल–ठूला आँखा, हिस्सी परेको अनुहारले उसको कालो रङ्गलाई छोपिदिएको छ । ऊ आफूलाई कुनै हिरोइन भन्दा कम ठान्दिन । उसको हातमा हरदम ऐना, काइयो र मोबाइल हुन्छ । गुदी निधारदेखि सिउँदोसम्म अबिरको धर्को तान्छे । ऊ सबैलाई आफू विवाहिता हुँ भन्दै हिँड्दिरहिछ ।
“आमा मलाई पोडर, किरिम, लिपिस्टिक, चुरा तेल ल्याइदिनु न ।” भर्खर सोह्र वर्ष टेकेकी गुदीले म बजार जाँदा यस्तै कुराहरु मगाउने गर्छे । यति सानै उमेरमा यसरी श्रृङ्गार पटारमा ध्यान दिएको मलाई भने फिटिक्क मन पर्दैन, तर पनि उसले मगाएको चिजबिज ल्याइदिनु पर्ने मेरो वाध्यता हुन्छ । बजारबाट आएपछि उसको हातमा समान थमाइदिंदै भन्छु, “ला काली, अब तेरो मुखमा पोत ।”
“आमा मलाई काली नभन्नु त, मलाई काली भनेको मन पर्दैन ।” रीसले रन्केर रातो भएको उसको कालो अनुहार अझ कालो हुन्छ । ऊ पुक्क मुख फुलाएर कुर्सीमा गएर बस्छे । आमाको नियास्रो लागेर होला, ऊ मलाई आमा भन्ने गर्छेे । उसको यो सम्बोधन मलाई अति आत्मीय लाग्छ ।
गुदीको बिहानको क्रियाकलापको शुरुवात श्रृंगारपटारबाट हुन्छ । त्यसपछि बाटोमा हिँड्दै गरेका पुरुष वर्गलाई खाउँला जस्तो गरेर एकोहोरो पाराले हेर्छे । आफ्नो कालो कपाललाई सुमसुम्याउदै घरि अगाडि लान्छे घरि पछाडि लान्छे, घरि ठूलो स्वरले गीत गाउँछे । लोग्ने मान्छेलाई देख्दा उसको हाउभाउ कटाक्ष हेर्न लायकको हुन्छ । छरछिमेकहरुले कतिपल्ट उसको कुरा काट्न बाँकी राखेका थिएनन् ।
“आमा मलाई पल्लो घरको काम गर्ने केटाले मोबाइल नम्बर माग्दै छ ।” ऊ उत्तेजित हुँदै भन्छे । म नसुनेको जस्तो गर्छु ।बिहान उठेर माथिल्लो तलामा गएकी गुदीको चालचुल छैन । म चालमारेर कौशीमा गएँ । ऊ काम ईच्छाले ब्याकुल भएको माउ बिरालो जस्तो सडकमा हेरिरहेकी थिई, उसका दुबै हातहरु अङ्गप्रत्याङ्गतिर सलबलाई रहेका थिए । तलबाट ढाडे बिरालो जस्तो मान्छेमाथि हेरैर गुनगुनाउँदैथ्यो, “सम्झेर बुझेर दिहाल त्यो जोवन ।”
“गुदी के रमिता हेरिरहेकी ? जा कोठामा गएर बढारकुँडार गर्, केटाको मुख देखेकी छैनस् ?” उसको यो बानीले मलाई वाक्क पारिसक्यो, तर लकडाउन छेकोभाँजो भएपछि मेरो के लाग्छ ! मैले उसलाई हपारेपछि ऊ मुख छोड्दै तल कोठातिर लागि । ऊ स्पर्शले यौन तृष्णा मेट्न नपाएपनि टाढैबाट आत्मसन्तुष्टि लिन चाहन्थी तर, म बाधक बनिदिएँ । गुदीका कमीकमजोरीहरु मध्ये मुखाले बानी पनि एउटा हो । बाबुआमासँग फोनमा कुरा गर्दा पनि ऊ चर्को आवाज निकालेर बाझ्ने गर्छे । उताबाट पैसा पठा भन्दै किचकिच गरेको आवाजलाई हकार्दै गरेकी हुन्छे, “मैले कमाएको पैसाले मेरो बिहेमा दाइजोको सामान किन्छु, मसँग पैसा नमाग ।”
एकदिन म कोठामा बसेर बालकृष्ण पोखरेलले लेख्नुभएको कथा संग्रह ‘सोधाई र जवाफ’ पढ्दै थिएँ, ऊ म बसेको गलैँचामा आएर बसी । ‘बेला न कुबेला बजी मेला’ भनेजस्तै मेरो एकाग्रतालाई भङ्ग गरिदिएकोमा मलाई उसित हुनसम्म रीस उठ्यो ।
“आमा तपाईंलाई एउटा कुरा भन्नु छ ।” उसले नङ कोट्याउँदै भनी । मैले उसको अनुहार राम्ररी नियालेर हेरें, उसले टाउको निहुराएकी थिई । मैले पढ्दै गरेको किताबलाई बन्द गर्दै सोधें, “गुदी, के कुरा भन् त ।” ऊ आफ्ना ठूलठूला आँखा चारैतिर घुमाउँदै मुस्कुराइरहेकी थिई । मैले कति कर गर्दा पनि उसले भन्न चाहेको कुरा ओकल्न सकेकी थिइन । म पन्ध्र मिनेटसम्म उसको मनभित्रको कुरा दुहुने प्रयासमा थिएँ, तर ढुङ्गा बोल्ला गुदी पटक्कै बोलिन ।
मलाई उसको मौनताले झर्को लगाइसकेको थियो तर, पनि मलाई उभित्र गुम्सिएको गाँठी कुरा जान्ने उत्कण्ठा अझ धेरै जाग्दैथ्यो । म उसको मौनता तोड्ने निष्कर्षमा पुगें । मैले अस्ति बजारबाट उसैलाई भनेर ल्याइदिएको पाउडर उसको हातमा थमाइदिंदै सोधेँ, “के कुरा भन् त नानु ? आफ्ना कुराहरु मलाई नडराइकन भन् ।”
“आमा मलाई पल्लो घरको मिस्री भैय्याले जम्मा एकचोटि बजायो ।” उसले निर्धक्कसँग भनी । म छाँगोबाट झरेकी जत्तिकै भएँ । मलाई अरुकुरा भन्दापनि उसले पेट त बोकिन भन्ने चिन्ताले अन्तरद्धन्द्ध चल्नथाल्यो । “तँलाई त्यो भैय्याले कतिपल्ट बजायो भन् त बुधी ?” मैले उसलाई मसँग कुरा गर्न अझै सजिलो बनाइदिएँ । उसले आफ्ना दुबै कानका लोती समाउँदै भनी, “आमा सोरी नरिसाउनु ल, तपाईंहरू बिहान वाकमा निस्किने बित्तिकै भैयाले मलाई बजाइहाल्थ्यो ।” म रिसले भित्रभित्रै कामिरहेकी थिएँ । गुदीलाई पिट्न पनि सक्दिनँ, उसको घर टाढा भएकोले अहिले नै पठाइहाल्न पनि सक्दिनँ, म द्विविधामा परें । फेरि केही गर्दा पनि अचेलका केटाकेटीले नराम्रो कदम चाले भने ! यो सोचले मेरो रोमकूपबाट निस्किएका रौंहरू ठाडा भए ।
“गुदी तैंले भुँडी बोकिस् भने मलाई तेरो बाबुले मार्छ, अब कहिले पनि त्यस्तो काम नगर्नु ल । तँलाई कसैले त्यस्तो नराम्रो काम गर्न जबरजस्ती ग¥यो भने मलाई भनिहाल्नु बुझिस् ।” मैले कुनै अप्रिय घटना नघटोस् भन्ने हिसाबले उसलाई सम्झाएँ । “आमा सोरी, अब म कसैलाई बजाउन दिन्न । मेरा बुबामम्मीलाई नभन्नु मलाई मार्छ । उता पनि मेरो केटालाई बजाउन दिँदा मलाई तपाईंसँग पठाएको हो, उसमाथि मेरो ठूलो बुबाको छोरो पनि मेरो पछि लागेको थियो ।”
“थुक्क जसलाई पनि बजाउन दिन्छेस् ? बिहे गर्नु अनि तेरो पोइलाई मात्र बजाउन दिनु ।” उसले जन्माएको शब्दको उच्चारण गर्न मलाई सजिलो भएको थियो । मेरो भित्र फेरि अन्तद्र्धन्द्ध चल्नथाल्यो । यिनीहरूको कमजोरीको फाइदा उठाउन घरभित्रैकाले पनि छोड्दैनन् । मभित्र आक्रोशको ज्वाला सल्किदैथ्यो ।
“गुदी र म भान्साकोठामा राखन धरन गर्दै थियौं, मैले उसलाई सोधेँ, तेरो नछुनी हुँदैन ?” “आमा मेरो नछुनी नभएको दुई महीना भइसक्यो, उता मेरो घरमा पनि मलाई मैनाबारी दुई÷तीन महिनामात्र हुन्थ्यो ।” उसको नछुनी रोकिएको कुराले म झण्डै बेहोस भएँ, मेरो शरीर पसिनाले भिज्यो । “गुदी तैले भुँडी बोकिस् कि क्या हो ? मैले अत्तालिंदै सोधेँ । “अब के गरुँ र कसो गरुँ भन्ने पीरले मलाई छट्पटी हुनथाल्यो ।
“आमा मैले पेट बोकेको छैन । पेट बोकेको भए त म आत्महत्या गरिहाल्थेँ नि । नडराउनुस् मैले पेट बोकेको छैन भन्ने मलाई पूरा भरोसा छ ।” ऊ निस्फिक्री थिई । “लाज पचेकी नक्कलीले उल्टै मलाई सम्झाउन थाली, यो जीवनमा कस्ता–कस्ता मान्छेसँग भेट्नु पर्दो रहेछ ।”
मेरो मनभित्र आँधी मडारिन थाल्यो । भोलिपल्ट मैले बजारबाट गर्भमा भ्रुण भए÷नभएको पत्ता लगाउन जाँच्ने यन्त्र ल्याएँ । उसले उत्सुकता साथ सोधी, आमा मलाई एब्रो पेन्सिल ल्याइदिनु भयो ? अस्ति पनि ल्याइदिनु भनेकी थिएँ, ल्याइदिनु भएन ।”
“नक्कली केटी, यत्रो तमासा मच्चाउँदा पनि के–के चाहिएको !” म ऊसँग मनमनै रिसाएँ ।
“भोलि पानी नखाई तेरो पिसाब जाँच्नुपर्छ । पाठेघरमा घाउ हुनेलाई नियमित समयमा नछुने हुँदैन । फेरि समयमै उपचार गरेन भने घाउ पाक्छ अनि अस्पतालमा भर्ना भएर अप्रेसन गर्नुपर्छ ।” मैले बोलेका अरु कुरा नबुझे पनि घाउ, अस्पताल र अप्रेसन भन्ने शब्द सुनेपछि उसको अनुहार पहेँलो भयो ।
“भोलिपल्ट सखारै उसको पिसाब टेस्ट गर्दा एउटा रातो धर्कोमात्र देखाप¥यो । मेरो लागि रिपोट चित्तबुझ्दो भएन । सातदिनसम्म उसको पिसाब जाँच्न म परिचारिका झैँ खटिएँ । उसले पिसाब जाँचिसकेपछि अँध्यारो अनुहार लगाएर मेरो अनुहारमा पुलुक्क हेर्थी । सातौँ दिनमा पनि उसको पिसाब जाँच्दा गर्भ रहेको कुरा पुष्टि भएन ।
“गुदी, तेरो बच्चादानीमा घाउ छैन रहेछ ।” मसँगै ऊ पनि खुसीले नाची । म नाँचे उसको गर्भमा बच्चा नभएको खुशीमा, पाठेघरमा घाउ नभएको खुशीमा ऊ नाची । दुबैको खुशीमा आ–आफ्नो व्यक्तिगत स्वार्थ थियो । भोलिपल्टै ऊ नछुनी पनि भई हाली । म झन् ढुक्क भएँ ।
“आमा मेरो मोबाइलमा वेफेको पासपोर्ट हालिदिनुन् ।” उसको हातमा मोबाइल थियो । सबैले मोबाइल चलाएको देखेर उसलाई पानि मोबाइलको रहर लाग्यो होला भन्ने ठानेर मेरो पुरानो स्मार्ट फोन उसलाई दिएकी थिएँ । “टाढाबाट आएकी केटी दिउँसभरि के पो गरोस् विचरी” भन्ने मेरो दयालु सोचले उसको मोबाइलमा वाईफाईको पासवर्ड हालिदिएँ, उसको फेसबुक एकाउन्ट खोलिदिएँ ।
ऊ बिहान उठेदेखि बेलुकीसम्म मोबाइलमा झुण्डिन थाली । आफ्नो काम लटरपर गरेर सिध्याएपछि, ऊ कि ऐनाको सामुन्ने नक्कल पार्न बस्थी कित मोबाइलमा घण्टौं के–के हेर्थी के–के, यसपछि बचेको समयमा कौशीमा बसेर टोल छिमेकेकका केटाहरुलाई एकोहोरो हेरिरहन्थी । मेरो अर्ती उपदेश र गालीले उसलाई बाह्र हातको टाँगाले पनि छोएन । मैले उसलाई मोबाइल दिनु नै ठूलो भूल गरेछु ।
“आमा केटीले केटीलाई पनि बजाउँदा रहेछन् ! यस्तो पनि हुन्छ र ?” उसले मलाई आश्चर्यचकित पारी । मैले हतारहतार उसको हातबाट मोबाइल लिएर उसको फेसबुक एकाउन्ट बन्द गरिदिएँ अनि “भ्यागुतोलाई हिलै प्यारो ।” भन्दै मोबाइल उसको हातमा थमाइदिएँ ।
“त्यसो नभन्नु त, म आजै मेरो घर जान्छु ।” ऊ भट्भटाउन थाली । “जान्छेस् भने जान त, म तेरो बाबुलाई बोलाइदिन्छु ।” म ठूलो स्वर निकालेर बम्किएँ । “मैले जान्छु भनेकी छु र ! मलाई किन भ्यागुतो भनेको ?” उसले मसित निहुँ खोजी । उसको मसँग बाझ्नुको मूल कारण फेसबुक बन्द हुनु थियो, भ्यागुतो भने गौण कारण थियो ।
मैले हाँस र कुखुरा पालेकी थिएँ । तिनीहरुले चारो टिपेको रमणीय दृश्यले मलाई प्रभावित पारिरहेको थियो । मलाई गुदीले वाक्कदिक्क पारेकी थिई । आफै नारी जाति भएर पनि मलाई उसको बारेमा नकारात्मक सोच राख्न बाध्य पारेको थियो । उसले आफ्नो आनीबानीलाई सुधारेकी भएपनि मैले उसको पछि लाग्नुपर्ने थिएन, तर उसको चरित्र र व्यवहारमा बीसको उन्नाइस पनि सुधार भएन । उसका बाबुआमाले त हरेस खाएर मेरो पछि लगाएर पठाएका, मैले उसलाई सुधार्न खोज्नु हातलाग्यो शून्य मात्र हो ।
अघिसम्म त भालेपोथीहरू रमाएर चारो टिप्दै गरेको दृश्यलाई अवलोकन गर्दैथेँ, एक्कासि मैले हेर्दै गरेकी दृश्यमा ठूलै परिवर्तन भयो । अघिसम्म कुखुराका भालेपोथी र हाँसका आफ्नै भालेपोथीबीच क्रिडा चल्दैथ्यो, अब भने कुखुराले हाँसलाई खेदेको दृश्य देखाप¥यो । “भालेले हाँसलाई मार्छ होला ।” मलाई हाँसको माया लाग्यो । मैले भालेलाई धपाउन गमलाको गिट्टी उठाएर हान्न मात्र आँटेकी थिएँ, तलको दृश्यले मलाई हक्क न बक्क पा¥यो । कुखुराको भालेले खेदेको हाँस टक्क अडियो ।
हँ कुखुरा र हाँसबीच कसरी शारीरिक सम्बन्ध हुन्छ ? म तीनछक्क परें । मैले भिन्नभिन्न प्रजातिका पशु पक्षीबीच यस्तो सम्बन्ध भएको कहिल्यै देखेकी थिइनँ । “आमा के हेर्दै हुनुहुन्छ ?” मेरो पछाडि उभिएर तल कुखुराको चर्तीकला हेर्दै गरेकी बुधीको आवाज सँगसँगै श्वासप्रश्वास चलेको मैले सुन्दैथ्यें । मबाट कुनै उत्तर नपाएपछि, ऊ अलिपरको कुर्सीमा बसेर नङ टोक्दै खुट्टा हल्लाउन थाली । मभित्र फेरि अन्तरद्धन्द्ध चल्नथाल्यो । आज मलाई यौन तृष्णाले व्याकुल भएकी गुदीलाई तल चरिरहेको पोथी हाँसजस्तै लाग्यो । जोसुकैले बजाउन खोज्दा टाउको हल्लाउँदै सहस्र स्वीकृति दिई हाल्ने हाँसको पोथी र गुदीको चरित्रमा समानता थियो ।
भोलिपल्ट मैले उसलाई मनोचिकित्सको क्लिनिकमा लिएर गएँ । डक्टरले उसलाई चेकजाँच गरिसकेपछि मलाई एकान्तमा बोलाएर भने । “म्याडम यौनइच्छा यो उमेरका सबै किशोर किशोरीमा हुन्छ । आफ्नो यौन सम्पर्कको आकांक्षालाई कसैले दबाएर राख्न सक्छन् भने कसैले आफूलाई स्वयम् गर्न सक्दैनन् । यिनी स्वयम् गर्न नसक्नेको लहरमा परिन् । उमेर पुगेपछि बिहे गरिदिनु नै यसको ओखती हो । पुरुषको सम्पर्कले मात्र यिनको कामाग्नि साम्य हुनसक्छ । डक्टरकोबाट फर्किदै गर्दा मनमनै एउटा दृढ निर्णय लिएँ, “बाटो खोले लगत्तै यसलाई उसको घरमा पुर्याइन्छिु ।”
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies