२०८२ चैत ४ गते बुधवार / Mar 18 , 2026 , Wednesday
२०८२ चैत ४ गते बुधवार
Ads

२० लाख बढी ज्येष्ठ नागरिकले बुझ्छन् सामाजिक सुरक्षा भत्ता

shivam cement
२०८२ माघ २५ गते १४:१४
Shares
२० लाख बढी ज्येष्ठ नागरिकले बुझ्छन् सामाजिक सुरक्षा भत्ता

काठमाडौं : सरकारले अघि बढाएको सामाजिक सुरक्षा भत्ताको कार्यक्रमबाट २० लाख ९ हजार १ सय ६९ जेष्ठ नागरिक लाभान्वित भइरहेका छन् । 

आइतबार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा मन्त्रालयकी सचिव राधिका अर्यालले यस्तो जानकारी दिएकी हुन् । ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरीय र सम्मानित बनाउन थप विशेष व्यवस्था आवश्यक रहेको विषयमा जरुरी सार्वजनिक महत्वको प्रश्तावमाथि छलफलमा बोल्दै उनले सरकारले ज्येष्ठ नागरिकलाई लक्षित गरी विभिन्न कार्यक्रमहरु सञ्चालन भइरहेको जानकारी दिइन् ।

उनकाअनुसार हाल ७० वर्षभन्दा माथिका १६ लाख ६० हजार ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका छन् । साथै ६० वर्ष पूरा गरेका १ लाख ६१ हजार दलित ज्येष्ठ नागरिक, १ लाख ७१ हजार एकल महिला तथा तोकिएको क्षेत्रमा ६० वर्ष पूरा गरेका १७ हजार १६९ ज्येष्ठ नागरिक पनि सामाजिक सुरक्षाको दायरामा रहेका छन् ।

सबै लाभग्राही ज्येष्ठ नागरिकले मासिक चार हजार रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेको अर्यालले जानकारी गराइन् । सचिव अर्यालले सबै सार्वजनिक सवारी साधनमा कम्तीमा दुई सिट ज्येष्ठ नागरिकको लागि सुरक्षित गरिएको तथा यात्रुवाहक भाडादरमा न्यूनतम ५० प्रतिशत छुट उपलब्ध गराइएको बताइन् ।

स्वास्थ्य सेवातर्फ सरकारी, सामुदायिक तथा निजी स्वास्थ्य संस्थामा ज्येष्ठ नागरिकका लागि बहिरंग र अन्तरंग सेवामा निश्चित सेवा सहितको सैया वार्डको व्यवस्था गरिएको उनको भनाइ छ । उनले उपचार शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था लागू गरिएको उल्लेख गर्दै हाल ७७ जिल्लाका ९४ वटा अस्पतालबाट यस्तो सेवा प्रवाह भइरहेको जानकारी दिइन् । 

७० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिकका लागि एक लाख रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य बिमा सुविधा उपलब्ध गराइए पनि सेवा प्रवाहको प्रभावकारितामाथि प्रश्न उठिरहेको सचिव अर्यालको स्वीकारोक्ति छ । 

ताजा खबर

सम्बन्धित खबर