मध्यान्ह संवाददाता
काठमाडौं, २४ वैशाख । वैदेशिक रोजगार विभागले जेन्युन एजुकेसन एण्ड कन्सल्टेन्सी प्रालिका सञ्चालक सुजन भट्टराईविरुद्व वैदेशिक रोजगार न्यायाधिकरण मुद्दा दायर गरेकोे छ । सञ्चालक सुजन भट्टराईले युरोपका विभिन्न मुलुकमा रोजगारीको लागि पठाईदिने भन्दै ४ करोड रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा शुक्रबार मुद्दा दायर गरेको हो । विभागले कन्सल्टेन्सीका सञ्चालक भट्टराईसहित मेख बहादुर गुुरुङ र सुनिल लम्साललाई पनि ठगी मुद्दामा विपक्षी बनाएको छ ।
उनीहरूलाई विभागमा खटिएको नेपाल प्रहरीको डिएसपी कमाण्डको टोलीले गत चैत २८ गते पक्राउ गरेको थियोे ।उनीहरुले पोर्चुगल, स्पेन र फ्रान्ससहितका मुलुकमा वैदेशिक रोजगारमा लैजाने भन्दै प्रतिव्यक्ति १७ लाख ९२ हजार रूपैयाँसम्म ठगी गरेकोे विभागले जनाएको छ ।
विदेशका विभिन्न विश्वविद्यालयमा अध्ययन गर्न जाने विद्यार्थीलाई परामर्श दिने उदेश्यले खालिएको कन्सल्टेन्सीले वैदेशिक रोजगार ऐन २०६४ को दफा १० विपरीत २२ जनाबाट २ करोड ८८ लाख ४१ हजार ७ सय ठगी गरेको पुष्टि भएको विभागले जनाएको छ ।
वैदेशिक रोजगार ऐनको दफा १० मा अनुमति नलिई वैदेशिक रोजगारीमा पठाउन प्रतिबन्ध लगाएको छ भने ऐनको दफा ४३ ले पीडितलाई विगो र त्यसको ५० प्रतिशत हर्जना असुल गराई दोषीलाई ७ वर्षसम्म कैद गर्ने व्यवस्था गरेकोे छ । २२ जनाबाट असुली गरेकोे २ करोड ८८ लाख ४१ हजार ७ सय र त्यसको ५० प्रतिशत हर्जनासहित ४ करोड २३ लाख ५० रूपैयाँ विगो कायम गरिएको विभागका निर्देशक एवं सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी दिए ।
उनका अनुसार वैदेशिक रोजगारीका लागि जापान, विभिन्न युरोपेली मुलुक, अमेरिका र क्यानडा पठाइदिने भन्दै विभिन्न कन्सल्टेन्सीले करोडौं रुपैयाँ ठगी गरेको उजुरी परेको छ ।
यसअघि विभागले राधा सुवेदीसहितका व्यक्तिले माल्टामा आकर्षक तलव सुविधासहितको वैदेशिक रोजगारी उपलब्ध गराउने भन्दै १ सय २२ जना व्यक्तिसँग प्रतिव्यक्ति २ लाख ३५ हजार दरले १ करोड ६४ लाख ८ हजार ठगी गरेकोे भन्दै त्यसको ५० प्रतिशत हर्जना ८२ लाख ४ हजार गरी २ करोड ४६ लाख १२ हजार विगो असुल उपर हुनुपर्ने माग गर्दै एउटा र कास्कीको माछापुच्छ्रे गाउँपालिकाका सदिक्षा गुरूङ र खिनशोभा गुरूङविरूद्ध वैदेशिक रोजगारीका लागि क्यानडा पठाउने भनि ४१ लाख ४२ हजार ५ सय ठगी गरेको आरोपमा ठगीको मुद्दा दायर गरेकोे थियोे । वैदेशिक रोजगार ठगीको मुद्दामा कायम भएको ठगीको विगो त्यसको ५० प्रतिशत हर्जना र सातवर्षसम्म कैद गर्ने कानूनी व्यवस्था छ ।
विभागले आकर्षक वैदेशिक रोजगारीको नाममा शैक्षिक कन्सल्ट्यान्सीबाट ठगीको धन्धा व्यापक रूपमा बढेको निष्कर्ष निकाल्दै अनुगमन गर्न शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।
शैक्षिक कन्सल्टेन्सीहरूले वैदेशिक रोजगारीका लागि जापान, युरोपेली मुलुक, अमेरिका र क्यानडा पठाइदिने भन्दै तेस्रो व्यक्ति खडा गरेर लाख रुपैयाँ मात्र ठगी गरिएको उजुरी विभाग आएकोे विभागले जनाएको छ । वैदेशिक रोजगारीमा जानुपूर्व श्रम स्वीकृति लिनुपर्ने अनिवार्य गरिएको भन्दै विभागले बिना श्रम स्वीकृति वैदेशिक रोजगारीका लागि नजान पनि सचेत गराएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies