२०८२ चैत ४ गते बुधवार / Mar 18 , 2026 , Wednesday
२०८२ चैत ४ गते बुधवार
Ads

विवाह भोजमा खर्च हुने रकम आश्रमलाई

shivam cement
२०८२ माघ २५ गते २२:०८
Shares
विवाह भोजमा खर्च हुने रकम आश्रमलाई

काठमाडौं : वरिष्ठ अधिवक्ता सुशील पन्त र उनकी धर्मपत्नी कुमुदा पन्तले छोराको विवाहमा भोज नगरी सो शीर्षकमा खर्च हुने रकम देवघाटधामस्थित गलेश्वर आश्रमलाई दानस्वरूप अर्पण गरेका छन् । 

शुक्रबार कान्छा छोरा सुयोग्य पन्तको कृति घिमिरेसँग विवाह सुसम्पन्न भएपछि उनीहरूले काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा ४० लाख रुपैयाँको चेक गलेश्वर आश्रमका पीठाधीश अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजलाई हस्तान्तरण गरे । 

‘कमाउने त्यो, दिनलाई नै हो’ भन्ने आदर्श वाक्यलाई आत्मसात गर्दै पन्त दम्पतीले विवाह, व्रतबन्ध जस्ता शुभकार्यमा फजुल खर्च नगरी त्यस्तो रकम परोपकारी तथा जनकल्याणकारी कार्यमा संलग्न संस्थालाई दिने अभ्यास गर्दै आएका छन् । 

यसअघि जेठा छोराको विवाहका अवसरमा पनि उनीहरूले भोज नगरी त्यसबाट बचत भएको ४० लाख रुपैयाँमध्ये २० लाख रुपैयाँ क्यान्सर केयर फाउन्डेसनलाई र बाँकी २० लाख रुपैयाँ पुण्यार्जन फाउन्डेसनलाई दान गरेका थिए । 

गलेश्वर आश्रम अष्टाङ्ग योगसिद्ध योगीराज ईश्वरानन्द ब्रह्मचारी (गलेश्वर बाबा) द्वारा स्थापना गरिएको आध्यात्मिक साधना, सांस्कृतिक संरक्षण र सामाजिक सेवामा समर्पित संस्था हो । 
आश्रमले पवित्र देवघाटधाम क्षेत्रमा वेद–वेदाङ्ग विद्यालय सञ्चालन गर्दै आएको छ । साथै, यहाँ बसोबास गर्ने साधक–सन्त तथा तिर्थालुहरूको भोजन र बसोबास सहज बनाउने उद्देश्यले अन्न क्षेत्र सञ्चालन गर्नुका साथै घरबारविहीन तथा परिवारबाट परित्यक्त वृद्ध–वृद्धाको कल्याणलाई ध्यानमा राखी सहज एवं सुन्दर कल्पवास निर्माण गरी सञ्चालन गरिरहेको छ ।

आश्रमले देवघाटधाममा बसोबास गर्ने साधक तथा वृद्ध–वृद्धाको स्वास्थ्य उपचारका लागि धर्मार्थ अस्पताल पनि सञ्चालन गर्दै आएको छ । उक्त अस्पतालमार्फत बिरामीहरूलाई स्वास्थ्य परीक्षण र आवश्यक औषधि निःशुल्क रूपमा उपलब्ध गराइँदै आएको छ । त्यस्तै, करिब एक हजार जनासम्मलाई बास बस्न पुग्ने अतिथिगृह पनि आश्रमले सञ्चालन गरिरहेको छ, जहाँ निःशुल्क भोजन र बसोबासको सुविधा प्रदान गरिन्छ ।

आश्रमले तिथिअनुसारका धार्मिक अनुष्ठान तथा अन्य विविध धार्मिक क्रियाकलापहरू नियमित रूपमा सञ्चालन गर्दै आएको छ । अध्यात्म, संस्कृति संरक्षण र सामाजिक सेवाका क्षेत्रमा आश्रमले गर्दै आएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै वरिष्ठ अधिवक्ता पन्तले सनातन धर्म, संस्कृति र संस्कारको विकास तथा जगेर्ना गर्ने उद्देश्यले आफूले गलेश्वर आश्रमलाई दानका लागि रोजेको बताए । 

उनका अनुसार उक्त दान स्वर्गवासी मातापिताको स्मृतिमा परोपकारी कार्य गर्ने पवित्र उद्देश्यका साथ प्रदान गरिएको हो ।

ताजा खबर

सम्बन्धित खबर