प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनको विरोधमा बोल्नेलाई कारबाहीको चेतावनी दिएका छन् । पाँच दलीय गठबन्धनले जनकपुरमा गरेको संयुक्त सभा सम्बोधन गर्दै सभापति देउवाले गठबन्धनका विरुद्ध बोल्ने र बागी उम्मेद्वार हाल्नेलाई कार्बाहीको चेतावनी दिएका हुन् । यसअघि पनि प्रधानमन्त्री एवम् सभापति देउवाले कार्यकर्तालाई चेतावनी दिएका थिए । चितवनकै भाषा प्रयोग गर्दै प्रधानमन्त्री देउवाले जनकपुर बाहेक तीन वटा सभा सम्बोधन गरिसके । विराटनगर, भरतपुर र काठमाडौंमा आयोजित सभा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनका उम्मेद्वारलाई मतदान गर्न निर्देशन दिए । सभापति देउवा बाहेक सत्ता गठबन्धनका अन्य दलका प्रमुखहरुले पनि साझा उम्मेद्वारलाई मतदान गर्न चेतावनी दिदै आएका छन् ।
सत्ता गठबन्धनले ६ महानगरसहित १७ स्थानीय तहमा तालमेल गरेको छ । ६ वटा महानगर र ११ उपमहानगर बाहेक पनि सत्ता गठबन्धनबीच तालमेल भएको छ । तर शीर्ष नेताहरुले गरेको तालमेलप्रति सत्ता गठबन्धनभित्र असन्तुष्टि छ । महानगरमै गठबन्धनका उम्मेद्वारविरुद्ध प्रमुख दलहरुबाटै स्वतन्त्र उम्मेद्वारी दिइएका छन् । मुख्यगरी नेपाली कांग्रेसबाट बागी उम्मेद्वार परेको छ । भरतपुर र पोखरामा कांग्रेस नेताहरुले अलग उम्मेद्वारी दिएका छन् । विराटनगरमा जनता समाजवादी पार्टी (जसपा) का नेता उमेश यादवले पार्टी छोडेर स्वतन्त्र उम्मेद्वारी दिएका छन् । तर जसरी पनि एमाले रोक्नुपर्ने भन्दै स्थानीय चुनावमा तालमेल गरेका सत्तारुढ दलका नेताहरुले कार्यकर्तालाई कारबाहीको चेतावनी दिइरहेका छन् ।
बारम्बार कार्बाहीको चेतावनी दिनुले गठबन्धनका नेताहरुले साझा उम्मेद्वारको पक्षमा मत ल्याउनु हो । कार्यकर्तालाई त्रसित बनाएर विद्रोहबाट रोक्न चाहेकै कारण गठबन्धनका शीर्ष नेताहरुको साझा मत देखिन्छ । आगामी प्रदेश तथा प्रतिनिधिसभा चुनावसम्मै तालमेल गर्ने मनसाय बनाएका नेताहरुले स्थानीय चुनावको नतिजा प्रतिकुल नहोस् भन्ने चाहना राखेकाले पनि यस्तो चेतावनी दिइएको हुनसक्छ । तर एउटा लोकतान्त्रिक समाज र संस्कृतिका निम्ति यस्तो ह्वीप राम्रो होइन । किनकि दललाई समर्थन गर्नुको अर्थ पनि उक्त दलले लिएको विचार र मार्गदर्शन हो । त्यो विचार र दर्शन निर्माण पार्टी महाधिवेशनहरुबाट गरिन्छ । तर घोषणापत्रमा समेत साझा प्रतिबद्धता जनाउन नसकेका गठबन्धनका दलहरुले कार्यकर्तालाई बन्धक बनाउन खोज्नु उचित होइन । निर्णय समेत हुन सक्छ, तर अनिवार्य कार्यान्वयन गर्नुपर्ने चेतावनीले लोकतन्त्रमै संस्थागत गर्न सक्दैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies