
रुकुम पश्चिम : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्मालाई सांसद पदबाट निष्कासन गरेको छ । पार्टी केन्द्रको निर्णयअनुसार शर्मालाई प्रदेशसभा सदस्य नरहने गरी कारबाही गरिएको जानकारी बुधबार कर्णाली प्रदेशसभा सचिवालयलाई गराइएको हो ।
नेकपाका प्रमुख सचेतक कृष्णबहादुर जिसीले संसद् सचिवालयलाई पत्र लेख्दै शर्मामाथि गरिएको कारबाहीबारे औपचारिक जानकारी गराएका छन् । पार्टीका अनुसार शर्माले जानीजानी नेकपाको नीति, सिद्धान्त, उद्देश्य र आचरणविपरीत गतिविधि गरेको ठहर गर्दै पार्टी तथा प्रदेश संसदीय दलको विधानविपरीत कार्य गरेकाले निष्कासन गरिएको हो ।
शर्मा २०७९ सालको प्रदेशसभा निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित भएका थिए । तर पछिल्लो समय माओवादी केन्द्र विभाजनपछि उनी जनार्दन शर्माको नेतृत्वमा रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी समूहमा आबद्ध भएका थिए । हाल उनी प्रगतिशील लोकतान्त्रिक पार्टी कर्णाली प्रदेश इन्चार्जको जिम्मेवारीमा छन् ।
यसअघि सोमबार बसेको नेकपा केन्द्रीय समितिको बैठकले शर्मालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी केन्द्रीय समितिसहित दलका सम्पूर्ण जिम्मेवारीबाट हटाउने र नेकपा कर्णाली प्रदेश संसदीय दलको सदस्यताबाट पनि निष्कासन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार उनलाई प्रदेशसभा सदस्यबाट समेत हटाइएको हो ।
पार्टीले शर्माको गतिविधिले संगठनात्मक अनुशासन भंग गरेको निष्कर्ष निकाल्दै विधानअनुसार कडा कारबाही गरिएको जनाएको छ ।
