
प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दल, उम्मेदवार र आममतदाताले शान्तिपूर्ण वातावरणको अपेक्षा राखेका छन् । भयरहित वातावरणमा आफूले चाहेको दल वा उम्मेदवारलाई मत हाल्न पाउने अधिकार सुरक्षित गर्न पनि शान्ति सुरक्षाको स्थिति सुदृढ हुनुपर्छ । तर पछिल्ला दिनमा प्रहरीमाथि नै भएका आक्रमण, कुटपिट र हत्याजस्ता घटनाले सुरक्षा अवस्था कमजोर रहेको संकेत गरेका छन् । यस्ता घटनाले सुरक्षाकर्मी मात्र होइन, आमनागरिकलाई पनि त्रसित बनाएको छ । दार्चुलामा प्रहरी हबल्दार योगेन्द्र घर्तीको हत्या भएको छ भने वीरगन्जमा अवैध सामान नियन्त्रण गर्न पुगेको सशस्त्र प्रहरी टोलीमाथि नै तस्कर समूहले आक्रमण गरेको छ । सशस्त्र प्रहरीमाथि ढुंगा प्रहार गरेर केहीलाई घाइते पारिएको छ भने सरकारी गाडीमा क्षति पुगेको छ । काठमाडौंमा ड्युटी सकेर घर फर्किरहेका प्रहरी जवान कुटिएका छन् । यसले शान्ति सुरक्षाप्रति चिन्ता बढाएको छ । यी घटनाले कानुन कार्यान्वयन गर्ने र शान्तिसुरक्षा कायम गर्नुपर्ने निकाय नै अराजकताको निशानामा परेको देखाउँछन् ।
गैरकानुनी गतिविधिलाई नियन्त्रणमा लिने र कानुनको पालना गर्न लगाएर समाजलाई सुरक्षित बनाउने जिम्मेवारी पाएका सुरक्षाकर्मीमाथि नै आक्रमण हुनुले हाम्रो सुरक्षा अवस्था देखाएको छ । गत भदौको जेनजी आन्दोलनपछि देखिएको अराजकता, जेलबाट फरार कैदीहरूको सक्रियता र बढ्दो आपराधिक मानसिकताले अहिले जहाँकहीँ सुरक्षा चुनौती थपिएको छ । सुरक्षाकर्मीको मनोबल खस्किएको छ भने दण्डहीनता बढ्दै जाँदा अपराधी झन् हौसिएको जस्तो देखिन्छ । तर यस अवस्था अब रहनु हुन्न । तीन सातापछि हुने निर्वाचनलाई भयरहित रूपमा सम्पन्न गराउन पनि यसमा सरकारले गम्भीर चासो देखाउनुपर्छ । सरकारले सुरक्षा व्यवस्थालाई ओठे प्रतिबद्धतामा मात्र सीमित गर्नुहुँदैन । राजनीतिक दलहरूले चुनावी सुरक्षाप्रति देखाएको चासो र चिन्ता सम्बोधन हुनेगरी सुदृढ शान्ति सुरक्षाको वातावरण बनाउनुपर्छ । त्यो नै वर्तमान चुनावी सरकारको मुख्य दायित्व बनेको छ । त्यसका लागि संवेदनशील क्षेत्रमा थप प्रहरी परिचालन, नियमित गस्ती, समयमै सूचना संकलन र फरार अपराधी पक्राउ गर्ने अभियान तीव्र बनाउन आवश्यक देखिन्छ ।
सुरक्षा निकायबीच राम्रो समन्वय पनि उत्तिकै जरुरी छ । प्रहरीको मनोबल उच्च राख्ने वातावरण बनाउन सके मात्र सबै सरोकारवाला ढुक्क हुनेगरी चुनावी सुरक्षा सुनिश्चित हुनेछ । प्रहरीले पनि व्यावसायिक ढंगले काम गर्दै जनताको विश्वास जित्नुपर्छ । कानुन सबैका लागि बराबर हो भन्ने सन्देश स्पष्ट रूपमा दिनुपर्छ । कसैले पनि कानुन हातमा लिन नपाउने व्यवस्था कडाइका साथ लागू गर्नुपर्छ । निर्वाचन लोकतन्त्रको आधारभूत प्रक्रिया हो । बलियो सुरक्षा व्यवस्थाबिना निष्पक्ष चुनाव सम्भव हुँदैन । त्यसैले सुरक्षित, शान्त र भयरहित वातावरणमा निर्वाचन गराउन पनि सरकारले सुरक्षा प्रबन्ध चुस्त–दुरुस्त र उपयुक्त परिचालन गर्न जरुरी छ ।