२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

राजनीतिक प्रतिशोधले विवादमा सीआइबी

ADV
शिव विक
२०८१ साउन १७ गते ०६:५०
राजनीतिक प्रतिशोधले विवादमा सीआइबी

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी प्रमुख श्याम ज्ञवाली छानबिनमा तानिएका छन् । गृहमन्त्रालयका अधिकारीहरूका अनुसार ज्ञवालीमाथिको छानबिन अर्का एआईजी टेकप्रसाद राईको नेतृत्वमा गठित पाँच सदस्यीय समितिले गरिरहेको छ ।

ज्ञवालीमाथि प्रहरी संगठनकै बद्‍नाम हुने गरी अनुसन्धान प्रभावित गरेको, पद र शक्तिको दुरुपयोग आरोप लागेको छ । यो बाहेक पनि अनुसन्धान जारी रहेका विभिन्न फाइलसँग सम्बन्धितहरूसँग हिमचिम बढाएको आरोप पनि लागेको छ । 

सुन तस्करीको अनुसन्धानमा पदीय मर्यादा दुरुपयोग गरेको आरोपमा पूर्व गृहमन्त्री रवि लामिछानेले सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यलाई हटाएर ज्ञवालीलाई ल्याएका थिए ।

लामिछाने गृहमन्त्री रहेको पुष्पकमल दाहाल नेतृत्वको सरकार ढलेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको छ । नयाँ सरकार बनेसँगै ज्ञवालीमाथि छानबिन शुरु भएको हो । 

प्रहरी भित्रैबाट ज्ञवालीमाथि अनुसन्धानमा रहेका व्यापारिक घरानाका व्यक्तिसँग हिमचिम बढाएको आरोप लागेको गृह मन्त्रालयका अधिकारीहरु दाबी गर्छन् । 

बालमन्दिरको सरकारी जग्गा व्यक्तिको नाममा हत्याउनेहरूसँग, सेन्चुरी बैंकको कर्जा हिनामिना गर्नेहरूसँग, केही अन्य ठूला भनिएका मुद्दामा मुछिएर पक्राउ पुर्जी जारी भएकासँग उठबस गरेको आरोप लागेपछि आन्तरिक छानबिन गरिएको गृहमन्त्रालयका अधिकारीहरु बताउँछन् । 

तर, सरकार बदलिएपछि प्रतिशोध साँध्ने प्रवृति अन्तर्गत सीआईबीलाई विवादमा तान्ने प्रयास भएको हुन सक्ने सरोकारवालाहरू बताउँछन् । यस्तो कार्यको सत्तारुढ दलहरुभित्रैबाट विरोध भएको छ ।

नेपाली कांग्रेसका सांसद हृदयराम थानी थानीले सरकार फेरिने बित्तिकै ज्ञवालीमाथि छानबिन थाल्दा भोलि आईजीपी बसन्त कुँवरमाथि पनि छानबिनको विषय उठ्न सक्ने बताउँछन् ।

बुधबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै उनले आईजीपी कुँवरलाई हिजो आफू मातहत रहेको र सँगै काम गरेको प्रहरी अधिकारीलाई किन छानबिन गर्नुपर्‍यो भन्दै प्रश्न गरे । 

‘सीआईबी प्रमुखमाथि छानबिन गर्न टेकबहादुर राईको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति बन्यो रे । आईजीपी साप भोलि तपाईंमाथि पनि छानबिन होला,’ थानीले भने, ‘तपाईँ हिजो त्यही एआईजीको हाकिम होइन ?’ 

‘सरकार बदलिएलगत्तै सिआइबी प्रमुखमाथि छानबिन गर्दै जाने हो र यसलाई विवादमा पार्दै लैजाने हो भने मुलुक कता जान्छ ?’ भन्ने पनि उनको प्रश्न छ । 

नेकपा एमालेका सांसद रघुजी पन्तले समेत सरकार फेरिएपछि सीआईबी प्रमुखमाथि छानबिन गर्ने प्रबृत्ति विकास हुन दिन नहुने बताए । यदि यसो गरिएको प्रहरीका विश्वसनीयता घट्ने उनको चिन्ता छ । 

‘हिजो एउटा टिम थियो । सरकार फेरियो र अर्को टिम आएर छानबिन गर्‍यो । त्यो टिममाथि छानबिन आज भइरहेको छ । भोलि आउनेले आजको टिममाथि छानबिन गर्छ भने प्रहरीको विश्वसनीयता कहाँ रहन्छ ?’ पन्तले भने ।

गृहमन्त्रीहरुको कार्यशैलीका कारण यस्तो भएको भन्दै उनले गृहमन्त्रीको कार्यशैलीले प्रहरीलाई विवादमा पार्न नहुने बताए । 

ADVADV

सम्बन्धित खबर

Advertise