२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

मधेस प्रदेश समन्वय परिषद् कतारको आयोजनामा वृहत् इफ्तार कार्यक्रम सम्पन्न 

Nada
तिलु शर्मा पौडेल
२०८२ फागुन ९ गते ०९:१४
Shares
मधेस प्रदेश समन्वय परिषद् कतारको आयोजनामा वृहत् इफ्तार कार्यक्रम सम्पन्न 

दोहा कतारः मधेस प्रदेश समन्वय परिषद् कतारले आयोजना गरेको वृहत् इफ्तार कार्यक्रम सम्पन्न भएको छ । मुस्लिम धर्मावलम्बीको पवित्र महिना रमादानको अवसर पारेर रोजा बसेका रोजेदार मुस्लिम धर्मालम्बिहरुका लागी मुन्तजामा रहेको गोरखाली रेस्टुरेन्टको हलमा शुभकामना आदानप्रदानसहित इफ्तार कार्यक्रम सम्पन्न भएको हो । शुक्रवार सम्पन्न कार्यक्रमको उद्घाटन कुरान तिलावात (मौलाना जनाव) बाट गरिएको थियो। 

ncell

परिषद्का अध्यक्ष मोहमद कलाम हुसेन खानको सभाध्यक्षता तथा गैरआवासिय नेपाली सङ्घ कतारका अध्यक्ष कृष्ण पन्थीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा परिषद् मातहत रहेका जिल्ला अध्यक्षहरू सहित वैचारिक सङ्गठन, प्रदेश, सामुदायिक, अन्य जिल्ला संस्थाका प्रमुखहरू तथा प्रतिनिधीहरुको उपस्थिति सहित शुभकामना मन्तव्य रहेको थियो ।  वक्ताहरूले इस्लामिक आस्थावानहरुले सबै जात धर्मलाई समेट्दै इफ्तार कार्यक्रम सम्पन्न गरेकोमा खुसी व्यक्त गर्दै शुभकामना दिएका थिए । 

रमजानको महत्वका बारेमा गुरु तथा वक्ताहरूले आफ्ना धारणा राख्दै झूटो नबोल्नु, शान्तिले बस्नु र गरिब तथा दीन दुःखीलाई दान र दया गर्नु रमजानको विशेषता रहेको बताएका थिए । रमजान महिना गरिब, दिन दुःखी र असहायका लागि नराम्रो नहोस् भन्ने दृष्टिकोणबाट अल्लाहले इस्लाम धर्ममा यस महिनाका लागि विशेष व्यवस्था गरेको धारणा राखेका थिए । अल्लाहको बाटोमा हिँड्दा स्वर्गको ढोका खुल्नेसम्मको महिमा वक्ता तथा मौलानाहरुले सुनाएका थिए ।

आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि पन्थीले मधेस प्रदेशले रमदानको सुरुमै इफ्तार कार्यक्रमको आयोजना गर्दै आफूलाई समाजमा सक्रिय रहेको प्रमाणित गरेको बताए । कार्यक्रममा उपस्थितलाई उपाध्यक्ष दुर्गानन्द पासवानले  स्वागत मन्तव्यद्वारा स्वागत गरेका थिए । का.वा. महासचिव जीवन न्यौपानेले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभाध्यक्ष खानले इफ्तार कार्यक्रममा जोडिनेहरू प्रति आभार व्यक्त गर्दै सबैजातजातीलाई समेट्दै थप नयाँ कार्यक्रम सहित परिषद् अगाडी आउने बताए । 

इस्लाम धर्मावलम्बीहरूले यस महिनालाई धार्मिक ग्रन्थ कुरआन अवतरण भएको सबैभन्दा पवित्र महिनाको रूपमा मान्ने गरिन्छ । रोजाका पहिलो १० दिनको अवधिलाई बरक्कत (फलिफलाप), दोस्रो १० दिनको अवधिलाई रहमत (दया–माया) र अन्तिम १० दिनको अवधिलाई मगफिरत (अल्लाहबाट माफी) पाउने गरी  रोजा बस्ने गर्दछन् ।

ताजा खबर

सम्बन्धित खबर