
रियाद : नेपाली राजदूतावास रियादको आयोजनामा तथा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरब अन्तर्गत रहेको क्षेत्रीय समन्वय समिति अल–कासिमको समन्वयमा साउदी अरबको अल–कासिम प्रान्तस्थित बुरैदा शहरमा राहदानी नवीकरण घुम्ती सेवा तथा श्रमिक सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
२० फेब्रुअरी २०२६ का दिन सम्पन्न उक्त घुम्ती सेवाअन्तर्गत राहदानी नवीकरण फाराम संकलन, राहदानी वितरण, ट्राभल डकुमेन्टलगायतका विभिन्न सेवा–सुविधा प्रदान गरिएको थियो । कार्यक्रम नेपाली राजदूतावास रियादका द्वितीय सचिव अमर नेपालीको नेतृत्वमा सम्पन्न भएको हो ।
सेवा प्रवाहमा तृतीय सचिव कमल कुँवरसहित स्थानीय कर्मचारीहरू डेभिड महर्जन, हेमन्त आचार्य, अब्दुल्ला राई तथा ध्रुवराज तिम्सिना सक्रिय रूपमा खटिएका थिए ।
सोही अवसरमा नेपाली राजदूतावास रियादका श्रम सहचारी कविराज उप्रेतीको नेतृत्वमा प्रथम सचिव टिकराम शर्मा, तृतीय सचिव दिनेशप्रसाद शिवाकोटी तथा जनसम्पर्क अधिकृत सरोजचन्द्र अधिकारीबाट नेपाली श्रमिकहरूका लागि श्रमिक सचेतना कार्यक्रमसमेत आयोजना गरिएको थियो । एनआरएनए एनसीसी साउदी अरबका सचिव ध्रुवराज कटुवालले सञ्चालन गरेको उक्त कार्यक्रममा अल–कासिम क्षेत्रका विभिन्न संघ–संस्थाका पदाधिकारी, एनआरएनकर्मी तथा नेपाली श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा साउदी अरबमा बसोबास तथा रोजगारीका क्रममा पालना गर्नुपर्ने नियम–कानुन, श्रमिकका हक–अधिकार, सामाजिक सुरक्षा र त्यसका लाभ, साथै विभिन्न कम्पनीहरूमा कार्यरत नेपाली श्रमिकहरूले भोग्दै आएका समस्यामाथि प्रश्नोत्तरसमेत गरिएको थियो । सहभागीहरूले कार्यक्रम अत्यन्त उपयोगी र जानकारीमूलक रहेको प्रतिक्रिया दिएका थिए ।
उक्त सेवाबाट अल–कासिमसहित अनैजा, हायल, जुल्फी लगायत आसपासका विभिन्न स्थान तथा कम्पनीहरूमा कार्यरत २ सय ८८ जना नेपाली श्रमिकहरूले प्रत्यक्ष लाभ लिएका छन् ।
राजदूतावास रियादद्वारा जारी गरिएको पूर्व सूचनाअनुसार राहदानी नवीकरणका लागि फाराम सेवाग्राही स्वयंले भरेर उपस्थित हुनुपर्ने व्यवस्था गरिएको थियो । फाराम भर्न नसक्ने वा पहुँच नपुगेका श्रमिकहरूलाई सहयोग पुर्याउन साउदीमा सक्रिय संघ–संस्था तथा सामाजिक व्यक्तित्वहरूले निःशुल्क रूपमा फाराम भरी सहयोग गरेका थिए ।
कार्यक्रमका लागि बिहीबार साँझ बुरैदामा उपस्थित भई शुक्रबार बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म निरन्तर खटिएर राजदूतावासको टोली तथा एनआरएनए पदाधिकारीहरूले सेवाग्राहीहरूलाई सेवा प्रदान गरेका थिए ।
घुम्ती सेवालाई व्यवस्थित र सफल बनाउन एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य विशालकुमार श्रेष्ठ, एनसीसी साउदी अरबका उपाध्यक्ष मनिष कोइराला, आरसीसी अल–कासिम प्रमुख सल्लाहकार राजकुमार श्रेष्ठ, एनसीसी सचिव ध्रुव कटुवाल, सदस्य काजीमान कन्डङ्वा, कृष्ण अधिकारी, आरसीसी सल्लाहकार तथा समाजसेवी तिल राना, आरसीसी अल–कासिमका अध्यक्ष विनोद खड्कालगायत सम्पूर्ण आरसीसी टिम, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा समाजसेवीहरूको उल्लेखनीय भूमिका रहेको थियो ।
रियादस्थित राजदूतावाससम्म धाउनुपर्ने बाध्यता र खर्चिलो यात्राबाट मुक्त भएकोमा सेवाग्राहीहरू अत्यन्त सन्तुष्ट देखिएका थिए ।
घुम्ती सेवा सफलतापूर्वक सम्पन्न भएकोमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबले नेपाली राजदूतावास रियादका कार्यवाहक महामहिम राजदूत शृजना अधिकारीसहित सम्पूर्ण दूतावास परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै, आगामी दिनहरूमा पनि यस्ता सेवा शिविरहरू निरन्तर सञ्चालन गरिदिन विनम्र अनुरोध गरेको छ ।