संविधान बनेपछि दोस्रो कार्यकाल निम्ति निर्वाचित जनप्रतिनिधिले कार्यभार सम्हालिसकेका छन् । केही स्थानीय तहको नतिजा आउन बाँकी छ । तर अधिकांश स्थानीय तहका जनप्रतिनिधिले गएको ६ जेठमा पद तथा गोपनियताको शपथ लिए । त्यसपछि अन्तिम नतिजा आए लगत्तै पदभार ग्रहण गर्ने क्रम चलिरहेको छ । बुधवारसम्म एघार वटै उपमहानगर पालिकाको नतिजा आएको छ भने काठमाडौं बाहेक सबै महानगरको नतिजा आइसकेको छ । काठमाडौं सहित बाँकी स्थानीय तहको नतिजा आइसकेपछि सबै जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल शुरु हुनेछ । यसपटक अघिल्ला जनप्रतिनिधि भन्दा केही सहज हुने देखिन्छ । किनकि ०७४ को चुनावबाट निर्वाचित जनप्रतिनिधिले कानूनी, संरचनात्मक र मनोवैज्ञानिक रुपमा पहिलोपटक स्थानीय सरकारको अभ्यास गर्नु परेको थियो ।
०७२ को संविधानले स्थानीय सरकारको कल्पना गरेकाले पहिलोपटक निर्वाचित जनप्रतिनिधिलाई केही असहजता थियो । यसपटक भने अघिल्ला जनप्रतिनिधिले बनाएको संरचना, कानून र मनोवैज्ञानिक आधारबाट अगाडि बढ्नुपर्नेछ । पहिलोपटक निर्वाचित जनप्रतिनिधिले भने प्रदेश र संघसँग अधिकारका क्षेत्राधिकार देखि स्थानीय अवरोध समेत खेप्नु परेको थियो । संविधानले अधिकार धेरै दिएको, तर केन्द्रीकृत मानसिकताबाट काम गर्दै आएका कर्मचारीको सहयोग पाउन सकेका थिएनन् । यसपटक कर्मचारीहरुको पनि तुलनात्मक सहयोग मिल्ने देखिन्छ । तर जनप्रतिनिधिहरुले शुरुवाति सन्देश दिने प्रयत्न समेत गरेका छन् । तर त्यस्तो सन्देश चाहिँ नमूनाका रुपमा लिइएको छ । अरु पालिकाका प्रमुख भन्दा अलग देखिन नमूना घोषणा, प्रतिबद्धता र निर्णय भएका छन् ।
आम पंक्तिमा एक र उत्कृष्ठ देखिने चाहना समाजकै उपज हुन् । कीर्ति राखेर जानुपर्छ भन्ने शिक्षा लामो समय चल्यो । भानु भक्तको रचनालाई अनुशरण गरेर हुर्किएका पुस्ता र तिनको मनोविज्ञानका कारण नमूना बन्ने चाहना प्रकट भएको लुक्दैन । पूर्ववर्ती सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा, पानी जहाज जस्ता कीर्तिमानी परियोजनालाई जोड दिनु पनि भानु भक्तकै रचनाको शृङ्खला र प्रभावका रुपमा समेत हेर्न सकिन्छ । जबकी सरकारले नमूना र उत्कष्ठ भन्दा पनि आम नागरिकलाई सुविधा दिनतिर ध्यान दिन जरुरी छ । समृद्ध समाज नमूना कामले नभएर आम परिवर्तनबाट मात्रै सम्भव छ । यसतर्फ जनप्रतिनिधिको ध्यान जान जरुरी छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies