२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

रुकुम पश्चिममा २ वटा अस्थायी मतदान केन्द्र रहने

shivam cement
प्रचण्ड खत्री
२०८२ फागुन १६ गते २१:५७
Shares
रुकुम पश्चिममा २ वटा अस्थायी मतदान केन्द्र रहने

रुकुम पश्चिम : फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुकुम पश्चिम मा दुई वटा अस्थायी मतदान केन्द्र रहने भएका छन् । समानुपातिक तर्फको मतदानका लागि जिल्लामा उक्त अस्थायी मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमले जनाएको छ । 

जिल्ला निर्वाचन अधिकारी मोहनलाल केसीका अनुसार जिल्ला कारागार र जिल्ला सदरमुकाम मुसिकोट नगरपालिका–१ खलंगास्थित बराटाकुरामा एक–एक वटा अस्थायी मतदान केन्द्र रहनेछन् ।

कारागारस्थित मतदान केन्द्रबाट कारागारमा रहेका कैदीबन्दीहरूले समानुपातिकतर्फ मतदान गर्न पाउनेछन् । यस्तै बराटाकुरास्थित अस्थायी मतदान केन्द्रमा कर्मचारी, सुरक्षाकर्मी लगायतले समानुपातिक तर्फ मतदान गर्न सक्ने व्यवस्था गरिएको छ । अस्थायी मतदान केन्द्रबाट प्रत्यक्षतर्फ भने मतदान गर्न नपाइने जनाइएको छ ।

जिल्लाभर ७६ मतदान स्थल रहेका छन् भने १ सय ४० वटा स्थायी र २ वटा अस्थायी गरी कुल १ सय ४२ मतदान केन्द्र रहनेछन् । निर्वाचनका लागि आवश्यक सामग्री तयारी अवस्थामा राखिएको छ । समानुपातिक तथा प्रत्यक्षतर्फका मतपत्र जिल्लामा आइसकेका छन् भने मतपेटिका लगायतका अन्य सामग्री पनि तयारी अवस्थामा रहेको जिल्ला निर्वाचन अधिकारी केसीले जानकारी दिए । 

सबै मतदान केन्द्रका लागि सामग्री तयार पारिएको र तोकिएको समयमा जिल्लाभर पठाइने व्यवस्था मिलाइएको छ । जिल्लामा कुल मतदाता संख्या १ लाख ६ हजार ६ सय ६० रहेको छ । जसमा ५४ हजार २ सय ६३ पुरुष, ५२ हजार ३ सय ९६ महिला र १ जना अन्य मतदाता रहेका छन् । 

एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । निर्वाचनलाई व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आवश्यक तयारी पूरा गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर