२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

निर्वाचनपछि पनि जनतामाझ सक्रिय रहने राष्ट्र निर्माण दलको प्रतिबद्धता

shivam cement
इसत्याक अहमद
२०८२ फागुन २६ गते २०:३३
Shares
निर्वाचनपछि पनि जनतामाझ सक्रिय रहने राष्ट्र निर्माण दलको प्रतिबद्धता

काठमाडौं : हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा अपेक्षित नतिजा प्राप्त गर्न नसके पनि राष्ट्र निर्माण दल नेपाल आगामी दिनमा संगठन सुदृढ गर्दै जनताको सेवामा निरन्तर सक्रिय रहने जनाएको छ ।

दलका महासचिव मोहम्मद जाकिर हुसैनले जारी गरेको प्रेस विज्ञप्तिमा निर्वाचनमा विजय प्राप्त गर्ने सम्पूर्ण माननीय सांसदहरूलाई हार्दिक बधाइ व्यक्त गर्दै जनताले दिएको सहयोग, समर्थन र विश्वासप्रति आभार व्यक्त गरिएको छ ।

विज्ञप्तिमा राष्ट्र निर्माण दल नेपालले सीमित स्रोत र कमजोर संगठनात्मक संरचनाका बाबजुद पनि निर्वाचनमा सहभागिता जनाएको उल्लेख गरिएको छ। दल २०८२ साल मङ्सिर ३ गते मात्र दर्ता भएको र दर्ता भएलगत्तै निर्वाचन अभियानमा होमिनुपरेको जनाइएको छ । त्यसबेला दलसँग ३६ सदस्यीय समिति मात्र रहेको र त्यही समितिको नेतृत्वमा प्रत्यक्ष रूपमा निर्वाचनमा सहभागिता जनाइएको विज्ञप्तिमा उल्लेख छ ।

देशभर उम्मेदवारी दिनुपर्ने अवस्थामा पनि सीमित स्रोतसाधनका कारण दलले १३ वटा निर्वाचन क्षेत्रमा प्रत्यक्ष उम्मेदवार खडा गर्न सकेको जनाएको छ। समानुपातिकतर्फ भने ३५ जनाको उम्मेदवारी दर्ता गरिएको थियो । 

विज्ञप्तिमा सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट जनतामाझ पुग्ने प्रयास भए पनि प्रत्यक्ष रूपमा व्यापक रूपमा पुग्न नसकेको स्वीकार गरिएको छ । कम समयमा जनतामाझ पुगेको उपस्थितिबाट दल पूर्ण रूपमा सन्तुष्ट नभए पनि जनताले दलको आवाजलाई केही हदसम्म स्वीकार गरेको अनुभव भएको जनाएको छ ।

दलले स्थापना भएपछि घोषणा सभा गरेलगत्तै केही मिडियामार्फत नकारात्मक प्रचार गरिएको पनि जनाएको छ । कतिपय स्थानमा दललाई ‘मुस्लिमहरूको पार्टी’ भनेर प्रस्तुत गर्ने प्रयास गरिएको उल्लेख गर्दै त्यसले उल्टै नयाँ दल आएको सन्देश बस्ती–बस्तीसम्म पुग्न मद्दत गरेको दाबी गरिएको छ ।

विज्ञप्तिमा नेपालका नागरिकहरू विभिन्न थर र पहिचानका भए पनि सबै नेपाली नागरिक भएको उल्लेख गर्दै कुनै राजनीतिक दलको नेतृत्व गर्ने व्यक्तिलाई धर्मसँग जोडेर हेर्नु उचित नहुने धारणा व्यक्त गरिएको छ । तर आफ्ना दल र नेतृत्वलाई धर्मसँग जोडेर भ्रम फैलाउने प्रयास भएको भन्दै त्यसप्रति असन्तुष्टि जनाइएको छ ।

विज्ञप्तिमा दलका अध्यक्ष शमीम अन्सारीको राजनीतिक यात्राबारे पनि उल्लेख गरिएको छ । अन्सारी विभिन्न लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहँदै मधेस आन्दोलनमा सहभागी भएको, एक राजनीतिक दलको उपमहामन्त्री बनेको, संविधानमा ‘मुस्लिम’ शब्द समावेश गराउन सफल आन्दोलनको नेतृत्व गरेको, नेकपा एमालेको केन्द्रीय सदस्य बनेको तथा मुस्लिम आयोगको अध्यक्षका रूपमा ६ वर्ष सेवा गरेको पृष्ठभूमि भएको उल्लेख गरिएको छ ।

त्यसै व्यक्तिको नेतृत्वमा स्थापना भएको दललाई ‘मुस्लिमहरूको पार्टी’वा ‘जेहादी’ र “आतंकवादी’ पार्टी भनेर प्रचार गरिनु गलत भएको विज्ञप्तिमा उल्लेख छ । यस्तो भ्रामक प्रचारले आफूहरूलाई मर्माहत बनाएको पनि जनाइएको छ ।

विज्ञप्तिमा चुनावमा संख्यात्मक रूपमा पराजित भए पनि दलले उठाएका विचारहरू लाखौँ जनतामाझ पुगेको दाबी गरिएको छ । अब संगठन विस्तारको अभियान सुरु गर्दै जिल्ला, गाउँ, बस्ती र टोल–टोलसम्म संगठन विस्तार गर्ने योजना रहेको बताइएको छ ।

राष्ट्र निर्माण दल नेपालले संविधानका उपलब्धिहरू, लोकतन्त्र, गणतन्त्र र संघीयताको रक्षा गर्दै समावेशी लोकतन्त्र र सामाजिक न्यायलाई अझ सुदृढ बनाउने कार्यमा प्रतिबद्ध रहने जनाएको छ । साथै संविधान र व्यवस्थामा रहेका कमजोरीहरू सुधार गर्दै देशलाई अझ मजबुत बनाउने दिशामा काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

विज्ञप्तिको अन्त्यमा दलका केन्द्रीय सदस्य, समर्थक, शुभेच्छुक र मतदाताहरूलाई आशातित परिणाम नआए पनि निराश नहुन आह्वान गरिएको छ । साथै मत प्रदान गर्ने सम्पूर्ण नेपाली नागरिकप्रति कृतज्ञता व्यक्त गर्दै निर्वाचित सबै सांसदहरूलाई पुनः बधाइ ज्ञापन गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर