
बझाङ : हालै सम्पन्न प्रतिनिधिसभा सदस्यमा विजयी ऐन महरले नागरिकले राज्य भएको अनुभूति कर्मचारीको कामबाटै हुने बताएका छन् । बुधबार जिल्ला प्रशासन कार्यालय बझाङमा आयोजित कार्यालय प्रमुखहरूसँगको छलफलमा उनले छिटो, छरितो र सहज सेवा प्रवाहले मात्र नागरिकलाई राज्य उपस्थित भएको अनुभूति दिलाउने बताए ।
उनले भने,‘नागरिकले राज्य भएको अनुभूति गर्ने कुरा कर्मचारीकै व्यवहार र सेवामा निर्भर हुन्छ । कर्मचारीहरू नतिखारिएसम्म नागरिकले राज्य भएको अनुभूति गर्न सक्दैनन् ।’
महरले कार्यालयहरूलाई सेवा प्रवाह सुधारमा ध्यान केन्द्रित गर्न आग्रह गर्दै बजेट, सामग्री र जनशक्ति व्यवस्थापनका विषयमा आफूले पहल गर्ने बताए । उनले भने,‘बजेट,सामग्री र जनशक्तिको आपूर्तिको चिन्ता नगर्नुहोस्, त्यो काम म गर्छु, तपाईंहरूले नागरिकलाई भरोसा हुनेगरी सेवा दिनुहोस् ।’
छलफलका क्रममा कार्यालय प्रमुखहरूले जनशक्ति अभाव, जिर्ण कार्यालय भवन तथा सेवा प्रवाहमा देखिएका विभिन्न समस्याबारे प्रतिनिधि सभा सदस्य महरसमक्ष जानकारी गराएका थिए ।