२०८२ चैत १५ गते आइतवार / Mar 29 , 2026 , Sunday
२०८२ चैत १५ गते आइतवार
Ads

कविता : म एक पुरुष

himalayanlife
२०८१ साउन १९ गते ०६:२५
Shares
कविता : म एक पुरुष

–डिक्सन श्रेष्ठ

गहुँगोरो वर्ण
आकाश हेरिरहेको ठाडा कपालहरू
सिमलका भुवाझैँ फक्रिएका दारी
बहादुरीको झल्को देखाउने मुठी एक जुँगा
बलिष्ठ पाखुराहरू
कोठा छुट्टिएका छाती
बोलीमा देखिएको दम
जोस
आट
साहस
निडर
अनि,
शक्तिको उपमा पाएको म एक पुरुष ।

तिमीलाई लाग्दो हो
म अक्सिजन बिना पनि बाच्न सक्छु
ब्ल्याक सिको पिँधमा पनि उत्रन सक्छु
माउन्ट केटुबाट युद्ध विरामको शङ्ख फुक्न सक्छु
उल्लुलाइ बोकेर तिम्रा सामु पछार्न सक्छु
साइबेरीयाबाट रंगीबिरंगी चराहरू ल्याउन सक्छु
अमेजनको डढेलो निभाउन सक्छु
चीलले झैँ माउन्ट एभरेस्टको शिर टेक्न सक्छु
यी हत्केलाले घाम छेक्न सक्छु
कालीगण्डकीबाट शालिग्राम टिप्न सक्छु
फेवातालबाट माछापुच्छ्रेको आकृति छिप्न सक्छु ।।

तिमीलाई यो पनि थाहा छ
प्यासमा पनि मेरा ओठहरू सुक्दैनन्
बेइज्जती र अपहेलनमा पनि मेरा शिरहरू झुक्दैनन्
अन्धकारमा पनि मेरा आँखाहरूले गन्तव्य बिर्सन्नन्
चोटहरूमा पनि मेरा मन दुख्दैनन् ।।

मन त तब दुख्छ
मन त तब दुख्छ
जब,
तिम्रो शरीर नछुँदा पनि म नामर्द कहलिन्छु
अनि,
तिम्रो शरीर छोइदिऊ भने पनि म बलात्कारी ठहरिन्छु
हो,
यस्तै हो संसारले देखेको,
म एक पुरुष ।।

ताजा खबर

सम्बन्धित खबर