२०८२ चैत ३ गते मङ्गलवार / Mar 17 , 2026 , Tuesday
२०८२ चैत ३ गते मङ्गलवार
Ads

नेपालीपनको संरक्षण

shivam cement
२०८२ चैत ३ गते ०६:१०
Shares
नेपालीपनको संरक्षण

नेपालबाट अवसर खोज्दै विदेश जाने युवाको संख्या बढ्दै जाँदा अर्को प्रश्न पनि सँगै उठिरहेको छ—विदेशमा जन्मिने र हुर्किने नयाँ पुस्तामा नेपालप्रतिको माया कसरी जोगाइराख्ने ? अहिले लाखौं नेपाली परिवार विदेशमा बसिरहेका छन् । उनीहरूका सन्तान त्यहीँको भाषा, शिक्षा र संस्कृतिमा हुर्किरहेका छन् । यदि समयमै ध्यान दिइएन भने उनीहरूले आफ्नै देश, भाषा र संस्कृति भुल्ने खतरा छ । गैरआवासीय नेपाली अभिभावकले घरभित्र नेपाली भाषा बोल्ने, नेपाली चाडपर्व मनाउने र नेपालको तस्बिर तथा चिह्नहरू राखेर आफ्ना सन्तानलाई देश सम्झाइरहेका छन् । तर नयाँ पुस्ताको मनमा नेपालीपन जोगाइराख्न यो पर्याप्त छैन । नयाँ पुस्तालाई नेपालसँग भावनात्मक रूपमा जोड्न संस्थागत प्रयासको खाँचो देखिन्छ । यही आवश्यकतालाई ध्यानमा राख्दै गैरआवासीय नेपाली समुदायले विदेशमै जन्मेका वा हुर्केका दोस्रो पुस्तालाई नेपालसँग जोड्ने योजना बनाएको छ, जुन सकारात्मक छ । 

नयाँ पुस्तामा नेपालप्रतिको अपनत्व जोगाउन केही ठोस काम आवश्यक देखिन्छ । पहिलो, विदेशमा रहेका नेपाली समुदायले नियमित रूपमा नेपाली भाषा कक्षा सञ्चालन गर्नुपर्छ । भाषा नै संस्कृति बुझ्ने सबैभन्दा ठुलो माध्यम हो । भाषा हरायो भने पहिचान पनि कमजोर हुँदै जान्छ । दोस्रो, नेपाली चाडपर्व, संस्कृति र इतिहासबारे जानकारी दिने कार्यक्रम नियमित रूपमा आयोजना गर्नुपर्छ । दसैं, तिहार, ल्होसार, तिजजस्ता पर्वहरू मनाउँदा नयाँ पुस्ताले नेपाली समाजको सामाजिक–सांस्कृतिक मूल्य र परम्परा बुझ्न सक्छन् । तेस्रो, विदेशमा रहेका नेपाली सन्तानलाई नेपाल भ्रमणका लागि प्रोत्साहित गर्नुपर्छ । शिक्षा, खेलकुद वा सांस्कृतिक कार्यक्रमका माध्यमबाट निश्चित अवधिका लागि नेपाल ल्याइए उनीहरूले आफ्नै देशको माटो, समाज र जीवनशैली नजिकबाट बुझ्न पाउँछन् । यस्तो अनुभवले नेपालप्रतिको भावनात्मक सम्बन्ध बलियो बनाउँछ । अर्को, विदेशमा रहेका दोस्रो पुस्ताका नेपालीहरूको अभिलेख राख्ने र उनीहरूबीच सञ्जाल निर्माण गर्ने काम पनि उपलब्धिमूलक हुनसक्छ । यसले उनीहरूलाई एकअर्कासँग जोड्न र नेपालसँगको सम्बन्ध बलियो बनाउन सहयोग पुर्‍याउँछ ।

विश्वव्यापीकरणको युगमा अहिले नेपाल विश्वका धेरै देशमा फैलिएको छ । तर जहाँ पुगे पनि नेपालीपन जोगाइराख्नु सबैभन्दा ठुलो जिम्मेवारी हो । विदेशमा हुर्किएको नयाँ पुस्ताले आफ्नो जरा नबिर्सियोस् भन्ने सुनिश्चित गर्नु अभिभावकको दायित्व पनि हो । समयमै सही कदम चालियो भने नेपाली समुदाय जहाँसुकै पुगे पनि नेपाली भाषा, संस्कृति र देशप्रेम पुस्तौंसम्म जोगाइराख्न सकिन्छ ।

सम्बन्धित खबर