२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

कालिञ्चोक–शैलुङमा हिमपात : चरिकोटमा झरी, दोलखामा चिसो बढ्यो

Nada
राजकुमार भुजेल
२०८२ चैत ७ गते २०:३१
Shares
कालिञ्चोक–शैलुङमा हिमपात : चरिकोटमा झरी, दोलखामा चिसो बढ्यो

दोलखा : शुक्रबारदेखि सुरु भएको वर्षासँगै दोलखाको उच्च भेगमा व्यापक हिमपात भएपछि जिल्लाभर चिसो तीव्र रूपमा बढेको छ । हिमाली क्षेत्रमा बाक्लो हुस्सुसहित परेको हिमपातले एकातिर जनजीवन प्रभावित पारेको छ भने अर्कोतिर कृषि तथा पर्यटन क्षेत्रलाई भने सकारात्मक उर्जा दिएको छ ।

ncell

प्रमुख पर्यटकीय गन्तव्य कालिञ्चोक र शैलुङ क्षेत्रमा यस वर्षको चैतमा मनमोहक हिमपात भएपछि सेताम्य डाँडा र मन लोभ्याउने दृश्य हेर्न आन्तरिक पर्यटकको भीड बढेको छ ।

यता सदरमुकाम चरिकोट तथा आसपासका क्षेत्रमा भने लगातार वर्षा जारी छ। वर्षाले सडक र दैनिक कामकाज प्रभावित पारे पनि कृषि क्षेत्रले भने महत्वपूर्ण चिस्यान पाएको छ ।

कालिञ्चोकका होटल व्यवसायी चन्द्र कुमार लामा भन्छन्,‘हिमपातले यतिखेर पर्यटन व्यवसाय निकै सक्रिय छ। पर्यटकको आगमन बढेको छ, होटल बुकिङ पनि राम्रो छ । चिसोले अलिकति असर गर्छ तर व्यापारका हिसाबले यो राम्रो समय हो ।’

शैलुङ क्षेत्रका स्थानीय सागर तामाङ अनुसार, ‘शैलुङमा परेको यो वर्षाको हिमपात निकै आकर्षक छ । बिहानैदेखि यहाँ दृश्य हेर्न आएका पर्यटकले गाउँमा पनि रौनक भरिदिएका छन् ।’

उता कृषि क्षेत्रमा पनि वर्षा–हिमपातले राहत मिलेको किसानहरूको भनाइ छ। माथिल्लो भेगमा आलु रोपेका किसान बारीमा पुगेको चिस्यानले बाली सप्रिने अपेक्षा राखेका छन् ।

बिगु गाउँपालिकाका किसान भन्छन्,‘हामीले रोपेको आलुका लागि अहिलेको चिस्यान निकै उपयोगी हुन्छ । लामो समय भनेअनुसारको पानी नपरेकोले चिन्ता थियो, अहिले मौसमले राहत दिएको छ ।’ मकै छर्न तयारीमा रहेका किसानहरू पनि वर्षा–हिमपातले जमिन तयार बनेको भन्दै खुसी छन् । 

भिमेश्वर नगरपालिका – ७ का रमेश भुजेल भन्छन्,‘मकै छर्ने वेला यो पानी एकदमै उपयुक्त हो । यसपालि राम्रो उत्पादन हुने अपेक्षा बढेको छ ।’ चिसो र वर्षाले सामान्य जनजीवन केही प्रभावित पारेपनि दोलखाका हिमाली भेगदेखि सदरमुकामसम्म पर्यटन, कृषि र व्यवसायमा आएको सकारात्मक प्रभावले स्थानीयमा आशा, उत्साह र खुसी थपिएको छ ।

ताजा खबर

सम्बन्धित खबर