
रौतहट : जमिअत उलमा–ए नेपालका अध्यक्ष मौलाना मोहम्मद खालिद सिद्दिकीले नेपालमा मुस्लिम समुदायको शैक्षिक अवस्था चिन्ताजनक रहेको बताएका छन् ।
रौतहट चन्द्रपुर नगरपालिकास्थित अमन होटलको सभा हलमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपालका १६ जातीय समुदायमध्ये मुस्लिम समुदाय शैक्षिक सूचकांकमा १३ औँ स्थानमा रहेको बताए । देशको समग्र साक्षरता दर ७२.२ प्रतिशत रहे पनि मुस्लिम समुदायमा यो दर मात्र ६१.७ प्रतिशत रहेको उनले जानकारी दिए । विशेषगरी मुस्लिम महिलामध्ये करिब ५० प्रतिशत अझै शिक्षाबाट वञ्चित रहेको उनले उल्लेख गरे ।
उनले मधेश प्रदेशमा समग्र शिक्षा अवस्था कमजोर रहेको र त्यसमा पनि मुस्लिम समुदाय अझ पछाडि परेको बताए । रौतहट जिल्ला शैक्षिक स्तरका दृष्टिले अझै पछाडि रहेको उनको भनाइ थियो ।
शिक्षा क्षेत्रमा सुधारका प्रयास भइरहे पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको भन्दै जमिअत उलमा–ए नेपाल ले देशव्यापी ‘शैक्षिक जागरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ । यो अभियान २०८२ साल चैत १५ गतेदेखि २०८३ साल वैशाख १५ गतेसम्म सञ्चालन हुनेछ ।
अभियानको मुख्य उद्देश्य शिक्षा सम्बन्धी जनचेतना अभिवृद्धि, शैक्षिक गुणस्तर सुधार, विद्यार्थी, अभिभावक तथा समुदायमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै विद्यालय तथा मदरसाबाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचभित्र ल्याउनु रहेको छ ।
अभियान अन्तर्गत समुदायस्तरमा सचेतनामूलक कार्यक्रम, शैक्षिक अन्तरक्रिया, अभिभावक परामर्श तथा विद्यार्थी प्रेरणामूलक गतिविधिहरू सञ्चालन गरिने संस्थाले जनाएको छ । संस्थाले शिक्षा समाज परिवर्तनको आधार भएको उल्लेख गर्दै अभियान सफल बनाउन सम्पूर्ण सरोकारवाला निकाय, शैक्षिक संस्था, शिक्षक, अभिभावक तथा सामाजिक अगुवासँग सहयोग, सहभागिता र समर्थनको अपिल गरेको छ ।
पत्रकार सम्मेलनमा महासचिव शमीम अख्तर, कोषाध्यक्ष अब्दुल जब्बार, सचिव मौलाना इजराइल, केन्द्रीय सदस्य शेख असदुल्लाह, रफिक अनवर जानवा, मौलाना असलम, कारी शाहाबुद्दिन इरफानी लगायतको उपस्थिति रहेको थियो ।