
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन र उनका नीतिहरूको विरोधमा अमेरिकाका प्रमुख सहरहरूमा 'नो किङ्स' नाम दिइएको विशाल विरोध प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीहरूले ट्रम्पले आफूलाई 'तानाशाह' का रूपमा प्रस्तुत गर्न खोजेको र शक्ति जनतामा निहित हुनुपर्ने माग गर्दै सडकमा उत्रिएका हुन् ।
यो प्रदर्शन ट्रम्प प्रशासनले लादेका नीतिहरू, विशेषगरी इरानसँगको युद्ध, संघीय आप्रवासन प्रवर्तन र बढ्दो महँगीका विरुद्ध केन्द्रित छ । वासिङ्टन डीसीको लिंकन मेमोरियल र नेसनल मल क्षेत्र प्रदर्शनकारीहरूले भरिएको थियो, जहाँ उनीहरूले राष्ट्रपति ट्रम्प र उप-राष्ट्रपति जेडी भान्सको पुत्ला प्रदर्शन गर्दै उनीहरूलाई पदबाट हटाउन र गिरफ्तार गर्न माग गरेका थिए ।

यस पटकको प्रदर्शनमा मिनेसोटा मुख्य केन्द्र बनेको छ, जहाँ गत जनवरीमा संघीय आप्रवासन एजेन्टहरूद्वारा दुई अमेरिकी नागरिक रेनी निकोल गुड र एलेक्स प्रेट्टीको हत्या भएको थियो । उक्त घटनाले देशव्यापी आक्रोश निम्त्याएको थियो। मिनेसोटामा भएको र्यालीमा चर्चित गायक ब्रुस स्प्रिंगस्टीनले पनि सहभागी जनाउँदै आफ्नो विरोध गीत "स्ट्रिट्स अफ मिनियापोलिस" प्रस्तुत गरेका थिए । न्युयोर्कको टाइम्स स्क्वायरमा पनि हजारौंको संख्यामा मानिसहरू भेला भएका थिए, जसका कारण प्रहरीले म्यानहाटनका व्यस्त सडकहरू बन्द गर्नुपरेको थियो ।
प्रदर्शनका क्रममा केही स्थानमा झडप र गिरफ्तारीका घटनाहरू पनि भएका छन् । लस एन्जलसमा संघीय सुरक्षाकर्मीमाथि सिमेन्टको ब्लक प्रहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् भने डलासमा प्रदर्शनकारीहरूसँग सामान्य झडप भएको छ । केही राज्यहरूले सुरक्षाका लागि नेसनल गार्डलाई समेत परिचालन गरेका छन् ।

ह्वाइट हाउसले भने यी प्रदर्शनहरूलाई "ट्रम्प डिरेन्जमेन्ट थेरापी सेसन"को संज्ञा दिँदै यसको आलोचना गरेको छ । राष्ट्रपति ट्रम्प आफैंले भने आफू राजा नभएको र संकटमा रहेको देशलाई पुनर्संरचना गर्न आफ्ना कदमहरू आवश्यक रहेको दाबी गर्दै आएका छन् ।
अमेरिकाका ठुला सहरहरू मात्र नभई सेल्भीभिल र हावेल जस्ता साना नगरहरूमा पनि विरोध प्रदर्शनहरू भएका छन् । यस्तै, पेरिस, लन्डन र लिस्बन जस्ता अन्तर्राष्ट्रिय सहरहरूमा रहेका अमेरिकी नागरिकहरूले पनि ट्रम्पलाई "फासिस्ट" र "युद्ध अपराधी" भन्दै विरोध प्रदर्शन गरेका छन् । आलोचकहरूले ट्रम्पका कतिपय कदमहरू असंवैधानिक रहेको र यसले अमेरिकी लोकतन्त्रलाई खतरामा पारेको चेतावनी दिएका छन् ।
