
काठमाडौँ : नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि आज बुधबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ । उक्त मुद्दाको पेसी न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा तोकिएको छ ।
गत कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको थियो । सोही बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो ।
सरकारले आफूलाई कुनै पूर्वसूचना नदिई तथा आफ्नो कुरा राख्ने अवसरसमेत प्रदान नगरी प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली, २०७१ विपरीत पदबाट हटाएको दाबी गर्दै कार्कीले कात्तिक २० गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
रिट निवेदनमा उनले सरकारको निर्णय बदर गरी आफूलाई पुनः प्रहरी महानिरीक्षक पदमा बहाली गर्न माग गरेका छन् । साथै, मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म नवनियुक्त आईजीपी डा. मनोज केसीलाई पदको जिम्मेवारी सम्हाल्नबाट रोक लगाउन अन्तरिम आदेश जारी गर्नसमेत माग गरेका छन् ।
कार्कीको रिटमाथि हुने आजको प्रारम्भिक सुनुवाइलाई चासोका साथ हेरिएको छ ।