
काठमाडौँ : जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी निरीक्षक पर्वतकुमार केसी आफ्नै निवासमा मृत फेला परेका छन् । कार्यालयको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत ५२ वर्षीय केसी मंगलबार बिहान प्रहरी अधिकृत निवासको कोठामा अचेत अवस्थामा भेटिएका थिए ।
जिल्ला प्रहरी कार्यालय परिसरभित्र रहेको अधिकृत निवासको भुइँतलामा बस्दै आएका केसी मंसिर १ गते बिहान साढे ९ बजेसम्म पनि नउठेपछि सहकर्मीले उनको कोठामा पुगेर ढोका ढकढक्याएका थिए ।
कोठाको ढोका भित्रबाट चुकुल लगाइएको र झ्यालसमेत बन्द रहेको पाएपछि सहकर्मीले झ्यालको लक तोडेर भित्र प्रवेश गरेका थिए । त्यसक्रममा केसी ओछ्यानमै अचेत अवस्थामा फेला परेका थिए ।
उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल तम्घास पुर्याइएको थियो । अस्पतालका चिकित्सकले बिहान ११ बजेर ५ मिनेटमा मृत घोषणा गरेका थिए।
घटनापछि मृतकका दाजु विनोदकुमार केसीले ज्यानसम्बन्धी कसुरमा जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्रहरीका अनुसार घटनास्थलको प्रारम्भिक अनुसन्धान तथा शव परीक्षणसम्बन्धी प्रक्रिया पूरा गरी शव परिवारको जिम्मा लगाइएको छ ।