संघसहित सातै प्रदेश सरकारमा नयाँ सरकार बनेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले लगभग पूर्णता पाइसकेको छ । दुई मन्त्रालय आफैंसँग राखेर प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् बिस्तार गरिसकेका छन् । प्रदेशहरुले पनि नयाँ सरकार पाइसकेको छ । सातै प्रदेशमा अहिलेका सत्तारुढ दलका नेताहरु मुख्यमन्त्री निर्वाचित भएका छन् । मुख्यमन्त्रीहरुले मन्त्रिपरिषद्लाई बिस्तार गरिरहेका छन् । मंसिरको चुनावबाट प्राप्त जनादेश अनुसार, संघ र प्रदेशको व्यवस्थापिका सञ्चालनमा आइसकेको छ । व्यवस्थापिकामा जनप्रतिनिधिहरुले आफ्नो कुरा राख्न पनि थालिसकेका छन् । तर तिनै जनप्रतिनिधि चयन गर्ने मतदाता चाहिं अत्याधिक चिसोको मारमा परिरहेका छन् ।
अत्याधिक बढेको चिसोको मार सवैभन्दा बढी मधेश प्रदेशमा देखिएको छ । मधेश प्रदेश प्रधान कार्यालयका अनुसार, गएको मंसिर यता मात्रै आठ जिल्लामा चिसोकै कारणले १४ जनाको मृत्यु भएको छ । चिसोबाट कठङ्ग्रिएर सर्लाहीमा ६ जना, धनुषामा एक, सप्तरीमा एक र रौटहटमा एक जनाको मृत्यु भएको छ । चिसोबाट बच्न आगो ताप्ने क्रममा जलेर थप ५ जनाको मृत्यु भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । मधेश प्रदेश बाहेक तराई मधेशका अन्य जिल्लाहरुमा पनि नागरिक पीडा बढ्दो छ । चिसोबाट विशेषगरी गरीब तथा बिपन्न परिवार बढी प्रताडित छन् । मुलुकको जनसंख्यामा २० प्रतिशत अर्थात् ५० लाख मानिस निरपेक्ष गरीबीको रेखामुनि रहेकाले नागरिकको जीवन रक्षाका निम्ति चिसो मुख्य समस्या बन्ने गरेको तथ्य नौलो होइन ।
तर अहिले पनि चिसोबाट बच्न तराई मधेशका गरीब परिवारले आगो ताप्नु बाहेक अर्को विकल्प पाउन सकेको छैन । संघसहित प्रदेश र स्थानीय सरकारले उनीहरुको पीडामा न्यानो दिन सकिरहेको देखिदैन । अहिले प्रदेश र स्थानीय सरकार दाउरा बाँड्ने कार्यक्रममै सीमित छ । संघ सरकारसँग त प्रष्ट कार्यक्रम समेत छैन । जबकी दाउरा पाउनु आफैमा गरीब तथा बिपन्न परिवारका निम्ति जीवनरक्षाको उपाय होइन । आगो तापेर बस्दा उनीहरु भोकै पर्ने तथ्य लुकेको छैन । किनकि कयौं परिवारसँग सञ्जित खाद्यन्न वा आर्थिक स्रोत छैन । दिनभर काम गरेर साँझबिहान टार्ने परिवारले आगो तापेर बस्न सक्दैनन् । तसर्थ सरकारले नागरिकको जीवनरक्षाबारे सोच्दा अन्य तथ्यतर्फ समेत तत्काल ध्यान दिन जरुरी छ । दीर्घकालमा भने गरीबीको संख्या घटाउने र रोजगारको व्यवस्था गर्ने उपाय नै हो । तर अहिले एकपछि अर्को सरकार पाल्नुपर्ने दायित्व खेपिरहेका नागरिकहरुले सत्ता भेट्न नसेकेको तथ्य चिसोबाट ज्यान गुमाइरहेको सूचनाले पुष्टि गरिररहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies