२०८२ चैत १५ गते आइतवार / Mar 29 , 2026 , Sunday
२०८२ चैत १५ गते आइतवार
Ads

इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्न सरकारको निर्देशन

himalayanlife
२०८२ चैत १५ गते २०:००
Shares
इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्न सरकारको निर्देशन

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयदेखि उच्च शिक्षासम्म भर्ना प्रक्रियासँग जोडिएका इन्ट्रान्स तयारी कक्षा तथा ब्रिज कोर्सहरू पूर्ण रूपमा बन्द गर्न निर्देशन दिएको छ । मन्त्रालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत यस्तो निर्णय सार्वजनिक गरेको हो ।

मन्त्रालयका अनुसार विभिन्न शैक्षिक संस्थाहरूले भर्ना परीक्षाको तयारीका नाममा सञ्चालन गर्दै आएका यस्ता कक्षाले विद्यार्थीमाथि अनावश्यक आर्थिक भार थप्नुका साथै शिक्षामा समान पहुँचमा नकारात्मक प्रभाव पार्दै आएको निष्कर्ष निकालिएको छ । यसै कारण यस्तो अभ्यास अन्त्य गर्न सरकार बाध्य भएको बताइएको छ ।

मन्त्रालयले २०८३ साल वैशाख १ गतेदेखि लागू हुने गरी प्रवेश परीक्षा तयारी कक्षा (इन्ट्रान्स प्रिपरेशन) तथा ब्रिज कोर्सका नाममा सञ्चालन भइरहेका सबै कार्यक्रम बन्द गर्ने निर्णय गरेको जनाएको छ । यो निर्णय मन्त्रीस्तरबाट २०८२ चैत १३ गते नै पारित भइसकेको उल्लेख गरिएको छ ।

निर्देशन कार्यान्वयन नगरे प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी पनि मन्त्रालयले दिएको छ । साथै, यस्ता कक्षाहरू सञ्चालन भए/नभएको अनुगमन गरी आवश्यक कारबाही अघि बढाउन जिल्ला प्रशासन कार्यालयहरूलाई समेत जिम्मेवारी दिइएको छ ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्तिमा शिक्षा प्रणालीलाई थप समावेशी र समान बनाउने उद्देश्यसहित यो कदम चालिएको स्पष्ट पारिएको छ ।

ताजा खबर

सम्बन्धित खबर