२०८३ असोज ११ गते आइतवार / Sep 27 , 2026 , Sunday
२०८३ असोज ११ गते आइतवार

विषादी प्रयोगमा लापरबाहीका कारण स्वास्थ्यमा असर

Nada
रामहरि कार्की
२०८२ चैत १५ गते २१:४५
Shares
विषादी प्रयोगमा लापरबाहीका कारण स्वास्थ्यमा असर

ललितपुर : नेपालमा अन्य देशको तुलनामा विषादीको प्रयोग कम भए पनि यसको प्रयोग विधिमा लापरवाही गर्दा जनस्वास्थ्यमा गम्भीर असर परेको विज्ञहरूले बताएका छन् । 

ncell

आइतबार जनस्वास्थ्य कार्यालय ललितपुरले आयोजना गरेको विषादी न्यूनीकरणसम्बन्धी समन्वयात्मक बैठकमा सहभागीहरूले यस्तो बताएका हुन् ।

बजारमा बिक्रीका लागि ल्याइने तरकारी तथा फलफूलमा विषादी भेटिनुको मुख्य कारण एग्रोभेट, किसान तथा बिक्रेताहरूको असावधानी रहेको उनीहरूको भनाइ छ ।

नेपालमा हाल करिब ०.३९ प्रतिशत मात्र विषादी प्रयोग हुने गरेको छ । विकसित देश जापानमा करिब १६ प्रतिशत विषादी प्रयोग हुँदासमेत त्यहाँ स्वास्थ्यमा खास असर नदेखिए पनि नेपालमा प्रयोग विधि र ‘वेटिङ पिरियड’ (प्रयोगपछि पर्खनुपर्ने समय) को बेवास्ताका कारण जनस्वास्थ्यमा नकारात्मक असर परेको जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले बताए ।

उनका अनुसार किसान, एग्रोभेट, बिक्रेता र उपभोक्ताले आ–आफ्नो जिम्मेवारी पूरा गरेमा भान्सासम्म विषादी पुग्नबाट रोक्न सकिन्छ । किसानले विषादी प्रयोग गरेपछि कम्तीमा एक सातासम्म तरकारी वा फलफूल नटिप्ने, एग्रोभेटले विषादी बिक्री गर्दा आवश्यक जानकारी दिने, बिक्रेताले उत्पादनको अवस्था बुझेर मात्रै खरिद गर्ने तथा उपभोक्ताले प्रयोगअघि राम्रोसँग धुने अभ्यास अपनाउनुपर्ने उनले बताए । डा. गेलालले भने, ‘नेपालमा विषादीको प्रयोग कम भए पनि किसानले हतारमा बजार पठाउने प्रवृत्ति छ । आज विषादी छरेको बाली आजै टिपेर बजार पठाउने गरिन्छ, जसले स्वास्थ्यमा असर पारिरहेको छ ।’ उनले नुनपानी वा कागतीपानीले तरकारी तथा फलफूल धोएमा विषादीको मात्रा केही कम गर्न सकिने पनि बताए ।

विषादीको अत्यधिक प्रयोग भएका क्षेत्रमा किसानमै क्यान्सरजस्ता जटिल रोग देखिन थालेको उनले जानकारी दिए । पछिल्लो समय क्यान्सर, थाइराइड, फोक्सो र मुटुसम्बन्धी रोग बढ्नुमा विषादीको अव्यवस्थित प्रयोग पनि एक कारण भएको उनको भनाइ छ । कृषि विकास कार्यालय ललितपुरकी वाली संरक्षण अधिकृत रितिक्षा पौडेलले विषादीलाई औषधि ठानेर प्रयोग गर्नु गलत भएको बताइन् ।

‘विषादी वास्तवमा विष हो, तर किसानले यसलाई औषधि ठानेर प्रयोग गरिरहेका छन्,’उनले भनिन्, ‘आवश्यकताभन्दा बढी प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ ।’

उनका अनुसार विश्वमा सन् १९५० तिर मलेरिया नियन्त्रणका लागि विषादी प्रयोग सुरु भएपनि पछि कृषि क्षेत्रमा यसको अत्यधिक प्रयोग हुन थालेको हो । नेपालमा विशेषगरी काठमाडौं उपत्यका आसपास र तराईका जिल्लाहरूमा विषादी बढी प्रयोग हुने गरेको छ ।

हाल नेपाल सरकारले २६ प्रकारका विषादीमा प्रतिबन्ध लगाएको छ । तर, तीमध्ये केही विषादी लुकीछिपी आयात र बिक्री हुने गरेको पनि बताइएको छ । नेपालमा करिब १६ हजार १ सय २० एग्रोभेट र ३ सय २० कम्पनी विषादी आपूर्ति कार्यमा संलग्न छन् ।

तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने प्रयोगशालाको अभावका कारण परीक्षण प्रभावकारी हुन सकेको छैन । कृषि विकास कार्यालय ललितपुरका कार्यालय प्रमुख तेजप्रसाद दवाडीले विषादीबारे अनावश्यक हल्लाले किसानलाई नकारात्मक असर पार्न सक्ने भन्दै सचेत रहन आग्रह गरे । नकारात्मक हल्लाका कारण यो वर्ष सागको बिक्रीमा ह्रास आएको उनले बताए ।

ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलले विषादी प्रयोगपछि पर्खनुपर्ने समयको पालना नगर्दा स्वास्थ्यमा हानी पुग्ने बताइन् । बजारमा आकर्षक देखिने तरकारीमा विषादीको मात्रा बढी हुने भएकाले उपभोक्ताले सचेत भएर खरिद गर्नुपर्ने उनको सुझाव छ ।

ताजा खबर

सम्बन्धित खबर