
काठमाडौंः लेबनानी अधिकारीहरूकाअनुसार दक्षिणी लेबनानको जेज्जिनमा चार जना सवार एक कारमा इजरायलले गरेको हवाई आक्रमणमा तीन जना पत्रकारको मृत्यु भएको छ । उक्त कारमा सवार चारै जनाको मृत्यु भएको छ । मृत्यु हुने पत्रकारहरूको पहिचान अल–मनारका संवाददाता अली शोएब, अल–मायादिनकी रिपोर्टर फातिमा फतौनी र क्यामेराम्यान मोहम्मद फतौनीका रूपमा गरिएको छ ।
लेबनानी राष्ट्रपति जोसेफ आउनले यस आक्रमणको कडा निन्दा गर्दै यसलाई अन्तर्राष्ट्रिय मानवीय कानुनको घोर उल्लंघन बताएका छन् । उनले पत्रकारहरू जेनेभा महासन्धि र संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को प्रस्ताव १७३८ अन्तर्गत संरक्षित सर्वसाधारण नागरिक भएको उल्लेख गरे । जसले प्रत्यक्ष रूपमा युद्धमा संलग्न नभएका पत्रकारहरूमाथि आक्रमण गर्न निषेध गर्दछ ।
राष्ट्रपति आउनले लेबनानी भूभागमा भइरहेको आक्रमण रोक्न अन्तर्राष्ट्रिय निकायहरूलाई हस्तक्षेप गर्न आग्रह गर्दै पीडित परिवार र सञ्चार जगतप्रति समवेदना प्रकट गरे । यसैबीच, इजरायली सेनाले अली शोएब हिजबुल्लाहको रदवान फोर्सको गुप्तचर इकाइको सदस्य भएको र उनले हिजबुल्लाह सम्बद्ध अल–मनार नेटवर्कमा पत्रकारको आवरणमा काम गरिरहेको दाबी गरेको छ । यद्यपि इजरायलले यसको कुनै प्रमाण भने पेस गरेको छैन ।