
रौतहट : नेपाल विद्युत् प्राधिकरण अन्तर्गतको गौर वितरण केन्द्रले जिल्लामा विद्युत् चुहावट नियन्त्रण र बक्यौता असुली अभियानलाई कडाइका साथ अघि बढाएको छ । विद्युत् चोरीका घटना बढ्नुका साथै लामो समयदेखि महसुल नतिर्ने प्रवृत्ति बढेपछि सुरु गरिएको अभियानले उल्लेखनीय उपलब्धि हासिल गरेको प्राधिकरणले जनाएको छ ।
केन्द्रका अनुसार विशेष अभियानमार्फत हालसम्म करोडौँ रुपैयाँ राजस्व संकलन भएको छ, जसले सरकारी आम्दानीमा महत्वपूर्ण योगदान पुर्याएको छ । विद्युत् चोरी नियन्त्रणका लागि विभिन्न स्थानमा नियमित अनुगमन, छापा र प्राविधिक परीक्षणलाई प्राथमिकतामा राखिएको छ ।
गौर वितरण केन्द्रका प्रमुख धिरेन्द्र कुमार यादवले हालसम्म १२० वटा विद्युत् चुहावटका घटना पत्ता लगाइएको जानकारी दिए । ती घटनामा कारबाही प्रक्रिया अगाडि बढाइएको छ भने जरिवानाबाट मात्रै १५ लाख ७६ हजार १२४ रुपैयाँ राजस्व संकलन गरिएको छ । हुकिङ तथा मिटर बाइपास गरी अवैध रूपमा विद्युत् प्रयोग गर्नेहरूमाथि निगरानी थप कडा बनाइएको उनले बताए ।
बक्यौता असुली अभियान अन्तर्गत करोडौँ रुपैयाँ बक्यौता राख्ने रौतहटका चार नगरपालिकामा पनि कडाइ गरिएको छ । राजदेवी, ईशनाथ, गरुडा र माधवनारायण नगरपालिकाको विद्युत् लाइन काटेर प्राधिकरणले कडा सन्देश दिएको थियो । त्यसपछि राजदेवी र ईशनाथ नगरपालिकाले आंशिक बक्यौता भुक्तानी गरेपछि मात्र ती क्षेत्रमा पुनः विद्युत् सेवा सञ्चालनमा ल्याइएको प्रमुख यादवले जानकारी दिए ।
प्राधिकरणका अनुसार २०८२ साउन १ देखि चैत १६ सम्मको अवधिमा २ हजार ४५ ग्राहकको लाइन काटिएको थियो । जसमध्ये १ हजार ७७२ ग्राहकले बक्यौता बुझाएपछि पुनः जडान गरिएको छ । यस अवधिमा बक्यौता बापत ५ करोड ५० लाख १५ हजार ३७७ रुपैयाँ राजस्व संकलन गरिएको छ ।
त्यस्तै, कालोसूचीमा परेका ६० ग्राहकबाट २४ लाख ४९ हजार ६३५ रुपैयाँ असुल गरिएको छ भने पुनः जडान दस्तुरबाट १५ लाख ३ हजार ६५७ रुपैयाँ आम्दानी भएको छ । कुल बक्यौता रकम भने ९ करोड ५५ लाख ८३ हजार ३१६ रुपैयाँ रहेको जनाइएको छ ।
लाइन काटिएका अधिकांश उपभोक्ताले बक्यौता तिरेर सेवा पुनः सञ्चालन गरिसकेको केन्द्रले जनाएको छ । यसबाट अभियान प्रभावकारी देखिएको प्राधिकरणको निष्कर्ष छ ।
गौर वितरण केन्द्रले आगामी दिनमा पनि चुहावट नियन्त्रण, नियमित अनुगमन र कडा कारबाहीलाई निरन्तरता दिने जनाएको छ । प्राधिकरणले समयमै विद्युत् महसुल बुझाउन र सेवा दुरुपयोग नगर्न उपभोक्तासमक्ष आग्रह गरेको छ ।
अवैध रूपमा विद्युत् प्रयोग गर्ने वा बक्यौता तिर्न आलटाल गर्ने उपभोक्तालाई कानुनी दायरामा ल्याई थप कडा कारबाही गरिने चेतावनी पनि प्राधिकरणले दिएको छ । अभियानपछि उपभोक्तामा समयमै महसुल तिर्नुपर्ने चेतना र दबाब दुवै बढेको देखिएको छ ।