२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

माटोको सीप संकटमा : प्लास्टिकको प्रभावले पुर्ख्यौली पेसा जोगाउन कुमाल समुदायको संघर्ष

Nada
विनोद निगम
२०८२ चैत १८ गते १७:१४
Shares
माटोको सीप संकटमा : प्लास्टिकको प्रभावले पुर्ख्यौली पेसा जोगाउन कुमाल समुदायको संघर्ष

नवलपरासी : पुस्तौंदेखि माटोसँग जीवन गाँसेर हस्तकला र परम्परागत सीपलाई जोगाउँदै आएको कुमाल समुदाय यतिबेला अस्तित्वकै संघर्षमा उभिएको छ । बदलिँदो जीवनशैली, सस्तो र सहज उपलब्ध प्लास्टिक तथा धातुजन्य सामग्रीको बढ्दो प्रयोग र बजार प्रतिस्पर्धाले यो समुदायको मुख्य पेसालाई क्रमशः कमजोर बनाउँदै लगेको छ ।

ncell

नेपालका विभिन्न भूभागमा फैलिएको कुमाल समुदाय माटोका भाँडा निर्माणमा दक्ष मानिन्छ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–५, गेरमीका भुलई कोहार यसै पेसामा जीवन बिताइरहेका प्रतिनिधि पात्र हुन् । झन्डै पाँच दशकदेखि निरन्तर माटोका भाँडा बनाउँदै आएका उनी आज पनि आफ्नो दैनिक दिनचर्या यही कामबाट सुरु गर्छन् ।

हरेक बिहान उनी नजिकैको नदी किनारमा पुगेर चिकनी माटो संकलन गर्छन् । त्यसपछि माटोलाई मुछेर परम्परागत चाकको प्रयोगमार्फत कराइ, गाग्रो, घैला, गिलास, दियोलगायत विभिन्न सामग्री तयार पार्छन् । तयार भएका भाँडालाई घाममा सुकाएर भट्टीमा पकाइन्छ, जसले ती भाँडालाई बलियो र प्रयोगयोग्य बनाउँछ ।

भुलईका अनुसार यो काम केवल सीपको विषय मात्र होइन, धैर्यता र समय व्यवस्थापनको संयोजन पनि हो । माटोको गुणस्तरदेखि निर्माण, सुकाउने र पकाउने प्रक्रियासम्म सबै कुरा मिल्दा मात्रै राम्रो उत्पादन सम्भव हुन्छ । यही पेसाबाट उनले परिवार चलाएका छन्, छोरीहरूको विवाह र छोराहरूको पालनपोषणसमेत यही आम्दानीले सम्भव भएको हो ।

तर पछिल्लो समय परिस्थितिमा ठुलो परिवर्तन आएको छ । पहिले गाउँघरमा व्यापक प्रयोग हुने माटोका भाँडालाई अहिले प्लास्टिक र फलामका सामग्रीले प्रतिस्थापन गर्न थालेका छन् । सस्तो मूल्य, सजिलो उपलब्धता र प्रयोगको सहजताले उपभोक्ताको रोजाइ बदलिँदै जाँदा कुमालहरूको आम्दानी घट्दै गएको छ ।

बजारमा माग खुम्चिँदै जाँदा यो पेसाबाट जीविकोपार्जन गर्न कठिन हुँदै गएको भुलई बताउँछन् । उनका अनुसार अहिले माटोका भाँडा विशेष अवसर र मौसममा मात्रै बढी बिक्री हुने अवस्था छ । गर्मीयाममा गाग्रोमा राखिएको पानी चिसो हुने भएकाले केही माग रहने गरेको छ भने दीपावलीमा दियो र छठ पर्वमा घैला तथा अन्य सामग्रीको प्रयोगले छोटो समयका लागि बजार चलायमान बनाउँछ ।

स्थानीय सरोकारवालाहरू भने कुमाल पेसालाई केवल आर्थिक गतिविधिका रूपमा नभई सांस्कृतिक सम्पदाका रूपमा हेर्नुपर्ने बताउँछन् । उनीहरूका अनुसार माटोका भाँडा वातावरणमैत्री हुने भएकाले प्लास्टिकको विकल्पका रूपमा यसको प्रवर्द्धन आवश्यक छ । यसले एकातिर रोजगारी सिर्जना गर्छ भने अर्कोतर्फ परम्परागत संस्कृति जोगाउन पनि मद्दत पुर्‍याउँछ ।

तर राज्य स्तरबाट अपेक्षित सहयोग र प्रभावकारी नीति अभावमा यो समुदाय निराश बन्दै गएको छ । नयाँ पुस्ता वैकल्पिक रोजगारीतर्फ आकर्षित हुँदा सीप हस्तान्तरणमा समेत समस्या देखिन थालेको छ, जसले भविष्यमा यो पेसा नै लोप हुने जोखिम बढाएको छ ।

यद्यपि, चुनौतीका बाबजुद भुलई कोहारजस्ता हस्तकलाकर्मीहरू आफ्नो पुर्ख्यौली पेसा छोड्ने पक्षमा छैनन् । उनीहरूका लागि यो पेसा केवल जीविकोपार्जनको माध्यम मात्र होइन, पहिचान र परम्परासँग गाँसिएको अस्तित्वको प्रश्न हो ।

समयमै संरक्षण, प्रवर्धन र बजार व्यवस्थापनमा ठोस पहल नगरिए, कुमाल समुदायको यस्तो अमूल्य सीप र परम्परा इतिहासका पानामा सीमित हुने खतरा बढ्दै गएको छ ।

सम्बन्धित खबर