
दोलखा : कालिन्चोक गाउँपालिका–९ कटुवाचौरमा गत चैत १३ गते भएको विनाशकारी आगलागीबाट प्रभावित ४ परिवारका १६ जनालाई गैर–खाद्यान्न राहत सामग्री वितरण गरिएको छ ।
बुधबार प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, जिल्ला प्रहरी कार्यालयका डीएसपी मनोज कुमार लामा,सशस्त्र प्रहरी बल, नेपाल नं. १८ गुल्म हे. क्वा. दोलखाका नायव उपरीक्षक संजय अधिकारी, गरुण दल गणका गणपति कर्णेल लोक सागर कटुवाल साथै अन्य सरोकारवालाहरुको उपस्थितिमा वितरण गरिएको हो ।
राहत सामग्री सशस्त्र प्रहरी बल, नेपाल नं. १८ गुल्म हे.क्वा.मा राखिएको डिजास्टर रिलिफ सिस्टम कन्टेनरबाट प्रदान गरिएको थियो ।
आगलागीमा स्थानीय नन्दप्रसाद रेग्मी, धनवीर थामी, इन्द्रबहादुर थामी लगायतका परिवार पीडित बनेका थिए । राहत वितरणपछि पीडित परिवारहरूले दैनिक जीवन व्यवस्थापनमा सहजता बढेको र मनोबल उच्च भएको प्रतिक्रिया दिएका छन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी घिमिरेले आगलागीबाट प्रभावित परिवारहरूको छिटो राहत वितरण गर्न प्रशासन, सुरक्षा निकाय र स्थानीयवासीबीचको समन्वय महत्वपूर्ण भएको बताए । उनले भने, ‘प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सहकार्यले आगलागी नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको छ । आवश्यक परे थप सहयोग पनि उपलब्ध गराइनेछ ।’
स्थानीय प्रशासन र सुरक्षा निकायहरूले आगलागी नियन्त्रण र राहत वितरणमा देखाएको तत्परता र छिटो निर्णयले प्रभावकारी विपद् व्यवस्थापनको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ ।
पीडित परिवारहरूलाई पुनःस्थापनाको लागि आवश्यक सहयोग निरन्तर उपलब्ध गराउने प्रतिबद्धता प्रशासनले जनाएको छ । यसरी शीघ्र राहत वितरण र समन्वयले पीडित परिवारमा सकारात्मक प्रभाव पारेको र समुदायमा सहयोग र सहकार्यको महत्वलाई उजागर गरेको छ ।