२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

जामेया मस्जिदद्वारा सार्वजनिक बिदाको माग

Nada
इसत्याक अहमद
२०८२ चैत २५ गते २०:५९
Shares
जामेया मस्जिदद्वारा सार्वजनिक बिदाको माग

रौतहट : रौतहटको इसनाथ–५ स्थित जामेया मस्जिद लछमिनीयाले शुक्रबार सार्वजनिक बिदा कायम गर्न प्रधानमन्त्रीसमक्ष पत्र पठाएको छ । मस्जिद व्यवस्थापन समितिले मुस्लिम समुदायको धार्मिक अभ्यासलाई मध्यनजर गर्दै उक्त माग अघि सारेको हो ।

ncell

समितिले उर्दू भाषामा पठाएको पत्रमा शुक्रबार मुस्लिम समुदायका लागि विशेष धार्मिक महत्व बोकेको दिन भएको उल्लेख गरिएको छ । मुस्लिम समुदायमा शुक्रबारलाई साप्ताहिक ‘ईद’को रूपमा लिइने गरिन्छ, जसदिन जुमाको नमाज अदा गर्ने परम्परा रहिआएको छ ।

पत्रमा सामुदायिक विद्यालयमा अध्ययनरत मुस्लिम विद्यार्थीहरू विद्यालय समयकै कारण जुमाको नमाजमा सहभागी हुन कठिनाइ भइरहेको उल्लेख गरिएको छ । विद्यालय समयमा नमाज पढ्न जाँदा कक्षाबाट वञ्चित हुनुपर्ने तथा विद्यालयमै बस्दा धार्मिक अभ्यास छुट्ने अवस्था रहेको मस्जिद पक्षको भनाइ छ ।

मस्जिदले हाल कायम शनिबार–आइतबार बिदाको व्यवस्थामा पुनर्विचार गर्दै एक दिन शुक्रबार र अर्को दिन शनिबार बिदा कायम गर्न सरकारसँग आग्रह गरेको छ । यसले मुस्लिम समुदायका विद्यार्थी र अभिभावकलाई धार्मिक कर्तव्य निर्वाह गर्न सहज हुने विश्वास व्यक्त गरिएको छ ।

यस विषयमा स्थानीय स्तरमा मिश्रित प्रतिक्रिया देखिएको छ । केहीले धार्मिक स्वतन्त्रताको सम्मान गर्नुपर्ने बताएका छन् भने केहीले शिक्षा प्रणालीमा असर नपर्ने गरी समाधान खोज्नुपर्ने धारणा राखेका छन् ।  उक्त विषयमा सरकारको औपचारिक प्रतिक्रिया भने आउन बाँकी रहेको छ ।

सम्बन्धित खबर