२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

मदरसा शिक्षालाई आधुनिक प्रणालीसँग जोड्न बहस

Nada
इसत्याक अहमद
२०८३ वैशाख २ गते २२:१२
Shares
मदरसा शिक्षालाई आधुनिक प्रणालीसँग जोड्न बहस

काठमाडौं : काठमाडौंमा मदरसा शिक्षा सुधार, व्यवस्थापन तथा भावी योजनालाई केन्द्रमा राख्दै मदरसा संघ तथा जमीअत उलेमाए नेपालद्वारा मदरसा इस्लामिया सम्बन्धी बैठक सम्पन्न भएको छ ।

ncell

जमीअत उलेमाए नेपालको केन्द्रीय कार्यालयमा भएको कार्यक्रममा सुनसरी, महोत्तरी, रौतहट, पर्सा, चितवन लगायत विभिन्न जिल्लाबाट आएका उलेमा, शिक्षक तथा समाजसेवी युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । 

कार्यक्रमको अध्यक्षता मदरसा संघका अध्यक्ष मौलाना हनीफ नदवीले गरेका थिए । उनले मदरसा शिक्षा इस्लामिक समाजको आधारस्तम्भ भएको उल्लेख गर्दै यसको गुणस्तर अभिवृद्धिका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए । साथै, आधुनिक शिक्षा प्रणालीसँग समन्वय गर्दै धार्मिक शिक्षालाई अझ प्रभावकारी बनाउने आवश्यकता पनि उनले औंल्याए । 

बैठकमा शिक्षकहरूको क्षमता अभिवृद्धि, पाठ्यक्रम सुधार तथा विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि नयाँ योजना अघि बढाउने विषयमा छलफल गरिएको थियो ।

त्यस्तै, मदरसाहरूको दर्ता प्रक्रिया, व्यवस्थापन पारदर्शिता तथा सरकारी निकायसँग समन्वयका विषयमा सहभागीहरूले आ–आफ्ना धारणा राखेका थिए ।

यसैबीच, मुस्लिम आयोग द्वारा जारी सूचनाबारे पनि विशेष छलफल भएको बैठकमा जानकारी दिइएको छ । आयोगले मदरसा संस्थाहरूलाई समयमै प्रतिवेदन पेश गर्न आग्रह गरेको सन्दर्भमा मदरसा संघले सबै सञ्चालकहरूलाई समयमै प्रतिवेदन बुझाउन अनुरोध गरेको छ ।

अध्यक्ष नदवीले प्रतिवेदन बुझाउने प्रक्रिया नयाँ नभएको स्पष्ट पार्दै विगतमा पनि यस्ता प्रतिवेदन सरकारलाई बुझाइँदै आएको उल्लेख गरे । उनले सबै मदरसा सञ्चालकहरूलाई आफ्ना संस्थागत विवरण तयार गरी स्थानीय तह तथा मुस्लिम आयोगलाई सहयोग गर्न आग्रह गरे । यद्यपि आयोगले स्थानीय तहमार्फत प्रतिवेदन पेश गर्न निर्देशन दिएको भए पनि संयुक्त बैठकले मदरसा सञ्चालकहरूलाई स्वयं सक्रिय भई प्रतिवेदन तयार गरी सम्बन्धित निकायमा बुझाउन आह्वान गरेको छ ।

कार्यक्रमको अन्त्यमा मदरसा शिक्षालाई समयानुकूल बनाउँदै यसको स्तर उकास्न आगामी दिनहरूमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको आयोजकले जनाएको छ ।

सम्बन्धित खबर