२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

कथा : मातृत्व विभाजन

Nada
अच्युतमान सिंह प्रधान ‘उत्सुक’
२०८३ वैशाख ५ गते ०६:१५
Shares
कथा : मातृत्व विभाजन

पति बितेको पनि झन्डै तीन दशक बितेछ । सँगै बाँच्ने र सँगै मर्ने कसम खाएको जीवनसाथीले साथ छोडेपछि उनी निकै विचलित भएकी थिइन् । कति दिन त उनी भोकै–प्यासै बसिन् । कति रात अनिदो रोएरै बिताइन् । एकपटक त आत्महत्या गरौं कि भन्ने सोच पनि नआएको होइन, तर आफ्ना तीन अबोध सन्तानको मायाले गर्दा ‘जसरी भए पनि म बाँच्नुपर्छ’ भन्ने दृढ निश्चय गरिन् । त्यस दिनदेखि उनले मर्नुको साटो जस्तोसुकै दुःखको पहाड आए पनि सामना गर्ने हिम्मत जुटाइन् ।

ncell

पतिको मृत्यु हुँदा उनी केवल ३५ वर्षकी थिइन् । जेठी छोरी ९ वर्ष, जेठो छोरा ७ वर्ष र कान्छो छोरा ५ वर्षका थिए । वैवाहिक जीवनको सुख उनले १० वर्ष मात्र चाख्न पाइन् । उनको मागी विवाह भएको थियो । २५ वर्षको उमेरमा विवाह गरी आउँदा उनी घरकी एक्ली चुलबुली छोरी थिइन् । दुई दाजुहरूपछि बाबुको छोरी पाउने रहरले जन्मेकी हुनाले उनी माइतीकी निकै प्यारी थिइन् । घरमा सबैले पुलपुल्याएकाले उनको स्वभाव अलि चञ्चल थियो ।

पति हुँदासम्म घरधन्दाबाहेक बाहिरी कामको उनलाई कुनै अनुभव थिएन । तर समयले मानिसलाई परिपक्व बनाउँछ भनेझैं, माइतीमा केही नगरेकी उनले पतिको मृत्युपछि बाध्यतावश व्यावहारिक बन्नुपर्‍यो ।

आज विगतका घटनाहरू चलचित्रझैं उनको आँखाअघि नाचिरहेका छन् । आफन्तले घरानियाँ परिवारको केटासँग विवाहको प्रस्ताव ल्याएका थिए । बाबु–आमालाई पनि केटाको परिवार चित्त बुझेकाले छोरीको भविष्य राम्रो हुने सोचेर विवाह गरिदिए । विवाहपछि सुरुमा त उनलाई पराई घर र नयाँ मानिससँग घुलमिल हुन निकै असहज भयो, तर बिस्तारै उनी त्यही घरमा रमाउन थालिन् ।

घरमा सासू, ससुरा, अविवाहित नन्द, देवर, पति र उनी गरी ६ जना सदस्य थिए । घरमा काम गर्ने महिला कामदार पनि भएकाले उनलाई सहज थियो । ससुरा उच्च तहका अवकाशप्राप्त कर्मचारी भएकाले राम्रो पेन्सन आउँथ्यो, पतिको पनि जागिर राम्रो थियो । नन्द र देवर कलेज पढ्दै थिए ।

विवाहको एक वर्षपछि छोरी जन्मिइन् । त्यसको दुई–दुई वर्षको अन्तरालमा दुई छोरा जन्मिए । घरमा नानीबाबुको आगमनले रौनक थपियो । बिस्तारै नन्द र देवरको पनि विवाह भयो । घरमा दुई बुहारी भएपछि उनलाई घर सम्हाल्न अझ सजिलो भयो ।

तर, एक दिन उनको जीवनमा नसोचेको बज्रपात भयो । पतिको कार दुर्घटनामा मृत्यु भयो । खबर पाउनासाथ उनी बेहोस भइन् । होस आउँदा घरमा आफन्त र छरछिमेकीको रुवाबासी थियो । छोराछोरी उनलाई अँगालो हालेर रोइरहेका थिए । पतिको शव पोस्टमार्टम गरी अन्त्येष्टिका लागि आर्यघाट लगिसकिएको थियो । उनले पतिको अनुहार अन्तिमपटक हेर्नसमेत पाइनन् । उनको रातो चुरा फुटाइयो, निधारको सिन्दुर पुछियो र सेतो लुगा लगाइयो । उनी अल्पायुमै विधवा भइन् भने सन्तानहरू टुहुरा भए ।

पतिको मृत्यु भएको केही वर्षपछि नै सासू–ससुराले सम्पत्ति दिएर उनलाई छुट्टै राखिदिए । सासू–ससुरा देवरसँग बस्न थाले । पतिको वियोगमा छटपटाइरहेकी उनलाई आफ्नैले पराई गरिदिँदा झन् मर्माहित बनायो । ‘सुखमा सबै आफ्ना, दुःखमा कोही नहुने’ उखान उनको जीवनमा मेल खायो ।

त्यसबेला माइती पक्षले उनलाई नानीहरू लिएर माइतीमै बस्न निकै अनुरोध गरेका थिए । तर, ‘विवाहित छोरी माइतीमा बस्नुहुँदैन’ भन्ने अडानमा उनी अडिग रहिन् । उनले निकै कष्ट सहेर, आँसु पिएर सन्तानलाई हुर्काइन् । उनीहरूलाई कहिल्यै बुबाको अभाव महसुस हुन दिइनन् । आमा र बुबा दुवैको माया दिएर उनीहरूलाई बढाइन् ।

अहिले सम्झिँदा पनि उनको मुटु काँप्छ । पहिले दुई छोराहरू ‘मेरो ममी, मेरो ममी’ भन्दै उनलाई तानातान गर्थे । कान्छोले ‘यो तिम्रो ममी होइन, मेरो मात्र हो’ भन्दै आफूतिर तान्थ्यो भने जेठोले पनि उस्तै दाबी गथ्र्यो । उनी दुवैतिर जाँदै खुसी बाँड्थिन् । तर, छोरीले कहिल्यै त्यसो गरिनन् ।

उनले दुःख गरेरै तिनै सन्तानलाई उच्च शिक्षा दिलाइन् । छोरीको विवाह अमेरिकामा रहेका इन्जिनियरसँग भयो । छोरी उतै गइन् । दुवै छोराहरूले पनि पढेर राम्रो जागिर खाए र मन परेको केटीसँग विवाह गरे । घरमा बुहारीहरूको आगमनले फेरि रौनकता छायो । उनलाई अब सुखका दिन आए जस्तो लाग्यो ।

केही वर्षमा छोराहरूका एक–एक छोरा जन्मिए । दुई छोरा, दुई बुहारी, दुई नाति, उनी र काम गर्ने महिला गरी घरमा आठजनाको रमाइलो परिवार भयो । छोरा–बुहारी अफिस जाँदा घरमा नातिहरूको रेखदेख गर्ने जिम्मा उनकै हुन्थ्यो । काम गर्ने मान्छेले सफाइ र खानाको काम गर्थे, उनी भने नातिहरूसँगै दिन बिताउँथिन् ।

छोराहरूले प्रगति गरे र छुट्टाछुट्टै घर बनाए । आफ्नै गाडी जोडे । नातिहरूलाई स्तरीय मन्टेस्वरी स्कुल पठाउन थाले । सन्तानको यो प्रगति देखेर उनी निकै खुसी थिइन् । तर, यो खुसी धेरै दिन टिकेन । दुवै छोराहरू अंशबन्डा गरी छुट्टिन खोजे । उनले पनि आपसी झगडा हुनुभन्दा समझदारीमै छुट्टिनु बुद्धिमानी सम्झिइन् ।

तर समस्या तब आयो जब आमालाई कसले पाल्ने भन्ने प्रश्न उठ्यो । छोरा–बुहारीले सल्लाह गरेर आमालाई ‘पालो–पालो’ राख्ने निर्णय गरे । उनी आफ्ना सन्तानको खुसीका लागि नचाहँदा–नचाहँदै सहमत भइन् ।

जुन आमाले दुःख गरेर हुर्काइन्, आज तिनै छोराहरूले उनलाई ‘विभाजन’ गर्दै थिए । पुरानो घर भाडामा लगाउने र एक महिना जेठो छोरासँग, अर्को महिना कान्छो छोरासँग बस्ने प्रस्ताव उनलाई सुनाइयो । उनलाई आफ्नो मातृत्व विभाजित भएको महसुस भयो । जुन छोराहरू सानोमा ‘आमा मेरो मात्र हो’ भनेर झगडा गर्थे, आज उनै छोराहरू ‘यसले र उसले पाल्ने’ भन्दै पन्छिन खोजिरहेका थिए । उनलाई कता–कता आफ्नो संस्कार र कोखप्रति नै धिक्कार लाग्यो । तर, आखिर उनी आमा थिइन्, सन्तानका गल्ती माफ गरिदिनु उनको बाध्यता र स्वभाव दुवै थियो ।

‘आमा–बाबुको माया छोराछोरीमाथि, छोराछोरीको माया ढुंगामाथि’ भन्ने उखान उनकै जीवनमा चरितार्थ भयो । आज पति साथमा भइदिएको भए यस्तो दिन देख्नुपर्दैनथ्यो भन्दै उनी आँसु झार्छिन् । ६५ वर्षको बुढ्यौली उमेरमा एक्लै बस्ने आँट पनि उनमा छैन ।

छोरीले अमेरिका आउन बारम्बार आग्रह गरेकी थिइन्, तर उनी विवाहित छोरी–ज्वाइँकोमा गएर बस्न र आफ्नो जन्मभूमि छाड्न चाहँदिनन् । माइतीका दाइहरूले पनि बोलाएका हुन्, तर दुई–दुई छोरा हुँदाहुँदै माइतीमा शरण लिन उनलाई समाजको डर लाग्छ । छोराहरूको इज्जत जाने चिन्ताले उनलाई सताउँछ ।

आफ्ना नातिहरूको माया र सन्तानको खुसीका लागि उनी पालो–पालो छोराहरूको घरमा बस्ने प्रस्ताव स्वीकार गर्छिन् । आफ्नो मातृत्व विभाजित भएकोमा उनी अत्यन्तै दुखी छिन्, तर अर्को विकल्प छैन । आखिर आमाको माया आकाशजस्तै विशाल र सागरजस्तै गहिरो हुन्छ भनिएको त्यसै कहाँ हो र ! 

सम्बन्धित खबर