
सहरभरि फिँजिएको छ मादकता
समय अर्ध-मूर्च्छित छ
हुनसक्छ यो सत्ताको मादकता हो
जसलाई पिएर वशीभूत छन्
देशका खुङ्खार कवि शब्द-शिल्पीहरू ।
लेखकका कलमहरू लट्ठिएका छन्
सत्ताकै 'चास्नी'मा झिँगाझैँ टाँसिएर
'चाकरी'को नयाँ व्याकरण लेख्दै छन्
यद्यपि ,किन्तु र परन्तु मा अघोषित 'राग'
अलापिरहेका छन्
देशका तथाकथित बुद्धिजीवीहरू ।
सखी तिमीले देख्यौ ?
घुम्टो ओढेर कसरी हुइँकिएको छ त्रासको बतास
डरको अँध्यारो बोकेर कसरी मडारिएको छ बादल
असमान पुँजी भण्डारण हुने विभेदकारी व्यवस्थामा
देशकै नागरिक भएर अनागरिक बाचिरहेका
भूमिहीन (सुकुम्वासीहरूका)छाप्रा उडाउन ,
टहरा भत्काउन ।
पुँजी व्यवस्थाको शासकीय पद्धतिले लुटेका
गरिबहरूको पोल्टाबाट
निर्दयतापूर्वक सत्ताको लाठी बजार्दै
हिजो मात्रै त 'लिलाम' गरियो सडक किनारमा
जिन्दगी चलाउने हजार रुपियाँको सिङ्गो लगानी
सय रुपियाँको पेट भर्ने दैनिकी ।
सखी तिमीले देख्यौ ती ताल्चाहरू ?
जो निर्मित हुन्
आलोचना गर्नेहरूका ओठहरूमा लगाउन ।
देख्यौ ती पिँजडाहरू ?
जो उद्धत छन्
सङ्गठित आवाज थुन्न ।
यति बेला सत्ताको सङ्गिन निसानामा छन्
विद्यार्थी सङ्गठनहरू ।
मजदुर हितको वकालत गर्ने ट्रेड युनियनहरू ।
लोकतन्त्रले प्रदान गरेका नागरिक अधिकारहरू
कुण्ठित गरिँदै छन् बिस्तारै बिस्तारै
बन्देज गरिँदै छन् राजनैतिक आस्था ,
विचार र सङ्गठित प्रयत्नहरू ।
सखी तिमीले महसुस गर्यौ त्यो कुलीन हावा ?
जो देशको भूगोलभरि सर्वत्र फिँजिएको छ
जसले अत्यधिक घृणा गर्छ
उत्पीडित ,निम्न वर्ग ,श्रमिक, मजदुर ,गरिखाने भुइमान्छेहरूलाई ।
आफ्नो वर्ग दुस्मन ठान्छ
उठीबास लगाउन चाहन्छ ऐयासी विरासतबाट ।
सखी तिमीले सुन्यौ फासीवादको स्वर ?
त्यो सधैँ सैनिक बुट जुत्ता बजाउँदै
बन्दुक नाल तेर्साउँदै
बारुद गन्ध लिएर आउँदैन रहेछ ।
हेर त
लोकप्रिय टेक्नोलोजीहरूको एल्गोरिदम
जादुयी शब्दहरूले
सोझा आँखाहरूमा छरेको भ्रमको मोतियाबिन्दु
आलोचकहरूको मुटु कपाउने
मगजको सफ्टवेयरमै डाउनलोड गरिएको डर को भर्सन
बहुलट्टी समयको मजधारबाट
हिरोगिरी गर्दै टुप्लुक्क आइपुगेको सम्भावित सङ्कट ।
नामी सिकारीले
मृगलाई सम्मोहित पार्न मादक धुन बजाए जसरी
सखी तिमीले चिन्यौ ?
मदिरा पिएर बेहोसी मुस्कुराइरहेको समयको पछाडि
खडा गरिएको दुई धारे तलवार ?
सखी तिमीले चिन्यौ ?
यो बहुलट्टी समयको मादकतामा
सम्मोहित मस्तिष्कहरूको ठिक अघि
सम्भावित खतराहरूको चाङै चाङ बोकेर
अट्टहास उभिरहेको
आधुनिक फासीवादको नयाँ अवतार ?