
बारा : बारा हरपुर बलुवास्थित जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २४ मा तीन दिने इस्लामिक इसतेमा कार्यक्रम आयोजना गरिएको छ ।
शनिबारबाट सुरु भएको उक्त धार्मिक जमघट सोमबारसम्म सञ्चालन हुनेछ । देशभरका ७७ जिल्लाबाट साथै छिमेकी बिहार राज्यका पूर्वी तथा पश्चिमी चम्पारण क्षेत्रबाट समेत ठूलो संख्यामा मुस्लिम समुदायका श्रद्धालुहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।
‘इसतेमा’ अरबी शब्द हो, जसको अर्थ ‘सभा’ वा ‘भेला’ हो। यो तबलिगी जमात द्वारा आयोजना गरिने ठूलो धार्मिक सम्मेलन हो, जहाँ सहभागीहरू धार्मिक शिक्षा, आत्मसुधार र इस्लामको सन्देश प्रसारमा केन्द्रित हुन्छन् ।
कार्यक्रममा विद्वान तथा उलामाहरूले कुरान र हदीसका आधारमा प्रवचन दिइरहेका छन् भने सहभागीहरूले दिनको पाँचै पटक सामूहिक नमाज अदा गरिरहेका छन् । अन्तिम दिन विशेष सामूहिक दुआ (प्रार्थना) कार्यक्रम आयोजना गरिनेछ ।
इसतेमाको मुख्य उद्देश्य मुस्लिम समुदायमा धार्मिक चेतना अभिवृद्धि गर्नु, आपसी एकता र भ्रातृत्व सुदृढ बनाउनु तथा इस्लामिक जीवनशैली अपनाउन प्रेरित गर्नु रहेको छ ।
कार्यक्रमका सहभागीहरूको लागि खाना, आवास तथा अन्य व्यवस्थापन स्वयंसेवकहरूले गरिरहेका छन्। सुरक्षा व्यवस्थापनलाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय बारा, पर्सा तथा राजमार्ग ट्राफिक कार्यालय पथलैयाले कडा सुरक्षा व्यवस्था मिलाएको छ ।
उक्त इसतेमा सोमबार बिहान विशेष सामूहिक दुआसहित समापन हुने कार्यक्रम रहेको छ । साथै आयोजक समितिले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण निकायप्रति आभार व्यक्त गरेको छ ।