
साउदी अरेबिया : साउदी अरबको मदिनास्थित अल हयात नेशनल अस्पतालमा लामो समयदेखि उपचाररत नेपाली नागरिक रियाज मोमिन सफल उपचारपछि स्वदेश फर्किएका छन् । गम्भीर स्वास्थ्य समस्याका कारण स्थानीय प्रहरीको समन्वयमा अस्पताल भर्ना गरिएका मोमिन अप्रिल २७, २०२६ मा नेपाल फर्किएको जेद्दास्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ ।
उपचारका क्रममा करिब ९० लाख रुपैयाँ बराबर खर्च भएको भए पनि मोमिनको कमजोर आर्थिक अवस्थालाई ध्यानमा राख्दै अस्पताल प्रशासनले विशेष सहुलियत र सहयोग प्रदान गरेको दूतावासले जानकारी दिएको छ । अस्पतालको मानवीय सहयोगका कारण उनको जीवन रक्षा सम्भव भएको उल्लेख गरिएको छ । उक्त सहयोगप्रति स्थानीय नेपाली समुदायले समेत प्रशंसा व्यक्त गरेका छन् ।
मोमिनको उद्धार तथा स्वदेश फिर्तीका लागि गैरआवासीय नेपाली संघका उपमहासचिव राजेन्द्र अर्याल, एनआरएनए एनसिसी साउदी अरब र आरसिसी जेद्दालगायत विभिन्न संघ–संस्थाले सक्रिय भूमिका खेलेका थिए ।
मानवीय कार्यमा सहयोग पुर्याउने सबै निकाय र व्यक्तिप्रति दूतावासले आभार व्यक्त गरेको छ । साथै, विदेशमा समस्यामा परेका नेपालीहरूको छिटो उद्धारका लागि जेद्दास्थित महावाणिज्य दूतावास र त्यहाँको नेपाली समुदायबीच थप समन्वय आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् ।
यस घटनाले वैदेशिक भूमिमा रहेका नेपालीहरूबीच आपसी सहकार्य, मानवता र संस्थागत एकताको महत्व पुनः उजागर गरेको छ ।