
प्युठान : जिल्लाभर अवैध रूपमा सञ्चालनमा रहेका स्वास्थ्य क्लिनिक, डेन्टल सेवा र मेडिकल हलले बिरामीको स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याइरहेको पाइएको छ । कमजोर अनुगमन र कारबाहीको अभावले समस्या वर्षौंदेखि मौलाउँदै गएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय प्युठानका अनुसार मापदण्ड पूरा गरी विधिवत् दर्ता भएका पोलिक्लिनिक जम्मा दुईवटा मात्रै छन् । तर जिल्लाका ९ वटै स्थानीय तहका बजारदेखि गाउँसम्म अनधिकृत रूपमा क्लिनिक, डेण्टल र मेडिकल सञ्चालन भइरहेको पाइएको छ । अनुगमनका क्रममा कतिपय व्यवसायीले अरूको नाममा फार्मेसी सञ्चालन गर्ने, मापदण्ड विपरीत बिरामी जाँच गर्ने र जथाभावि औषधि बिक्री गर्ने गरेको भेटिएको छ ।
नियमअनुसार मेडिकल हललाई औषधि बिक्री गर्न मात्र अनुमति हुन्छ । तर नेपाल औषधि व्यवसायी संघ प्युठानमा आबद्ध करिब ४४ र सिएमए संघसँग आबद्ध करिब ९० व्यवसायमध्ये धेरैले आफ्नो अधिकारक्षेत्र नाघेर बिरामी जाँच, औषधि सिफारिस र उपचारसमेत गर्ने गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । गौमुखी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरि जैसीका अनुसार धेरै स्थानमा क्लिनिक वा मेडिकलको नाममा प्रत्यक्ष उपचार सेवा सञ्चालन भइरहेको छ ।
जिल्लामा सञ्चालनमा रहेका करिब १४ डेण्टल क्लिनिकमध्ये ४ वटा मात्रै कानुनी रूपमा दर्ता भएको र बाँकी १० वटा अवैध रूपमा चलिरहेको तथ्य पनि सार्वजनिक भएको छ । यसैबीच, गाउँस्तरका केही मेडिकलहरूमा गर्भपतन गराउने औषधिसमेत अवैध रूपमा बिक्री भइरहेको भेटिएको छ, जसले विशेषगरी महिलाको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने चिकित्सकहरूको चेतावनी छ ।
कानुनी व्यवस्था अनुसार पोलिक्लिनिक जिल्ला स्वास्थ्य कार्यालयमा, क्लिनिक स्थानीय तहको सिफारिसमा र औषधि पसल औषधि व्यवस्था विभागमा दर्ता हुनुपर्छ । विगतमा स्थानीय तहलाई क्लिनिक दर्ताको अधिकार दिइए पनि कार्यविधि अभावका कारण प्रभावकारी कार्यान्वयन हुन सकेको थिएन । हाल भने क्लिनिक र पोलिक्लिनिक दर्ताको अधिकार पुनः जिल्ला स्वास्थ्य कार्यालयमै केन्द्रित गरिएको छ ।
पोलिक्लिनिक सञ्चालनका लागि विशेषज्ञ डाक्टर, आफ्नै फार्मेसी, प्रयोगशाला, बेड, एक्स–रे सेवा र पार्किङजस्ता पूर्वाधार अनिवार्य हुन्छन् । क्लिनिकका हकमा एमबिबिएस डाक्टरसहित आधारभूत संरचना आवश्यक पर्ने व्यवस्था छ । तर अधिकांश सञ्चालनमा रहेका संस्थाले यी मापदण्ड पूरा नगरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयले सबै स्थानीय तहमार्फत १५ दिनभित्र मापदण्ड पूरा गरी दर्ता हुन सूचना जारी गरेको थियो । तर एक महिना बित्न लाग्दा पनि धेरै सञ्चालकले अटेरी गर्दै अवैध रूपमा सेवा सञ्चालन गरिरहेका छन् ।
यसबीच, सरुमारानी गाउँपालिकाको बड्डाँडा बजारमा सञ्चालित एक पोलिक्लिनिक सिल गरिएको छ भने माण्डवी गाउँपालिकाको जस्पुरस्थित अर्को पोलिक्लिनिकलाई तत्काल दर्ता गर्न अल्टिमेटम दिइएको छ । हाल प्युठान नगरपालिकामा रहेका निमतारा र स्वर्गद्वारी लाइफ केयर पोलिक्लिनिक मात्रै वैधानिक रूपमा दर्ता भएका छन् । त्यस्तै, नगरपालिका क्षेत्रमा रहेका चार वटा डेण्टल क्लिनिक मात्र कानुनी दायरामा छन् ।
औषधि व्यवस्था विभागबाट हुने अनुगमनका क्रममा समेत “पहिले सूचना पाएपछि मापदण्डअनुसार देखाउने र अनुगमन सकिएपछि पुरानै अवस्था फर्किने” प्रवृत्ति रहेको स्थानीय स्वास्थ्यकर्मीहरू बताउँछन् । आन्तरिक मिलेमतोका कारण प्रभावकारी कारबाही हुन नसकेको आरोपसमेत उठेको छ ।
यसैगरी, एम्बुलेन्स सेवामा पनि सरकारले कडाइ गरेको छ । अब स्वास्थ्य संस्था बाहेक अन्य निकायले एम्बुलेन्स सञ्चालन गर्न नपाउने र अनिवार्य रूपमा स्वास्थ्य कार्यालयमा दर्ता गर्नुपर्ने व्यवस्था लागू गरिएको छ । प्युठानमा हाल करिब २३ एम्बुलेन्स सञ्चालनमा रहे पनि केही सरकारी एम्बुलेन्ससमेत मापदण्डविपरीत रहेको जनाइएको छ ।
समग्रमा, नियमनको कमजोरी र सरोकारवाला निकायबीच समन्वय अभावका कारण प्युठानमा स्वास्थ्य सेवा क्षेत्र अव्यवस्थित बन्दै गएको देखिन्छ । समयमै प्रभावकारी अनुगमन र कडा कारबाही नगरे जनस्वास्थ्यमा गम्भीर संकट निम्तिने जोखिम बढ्दो छ ।