
काठमाडौं : कञ्चनपुरकी वन्दना चौधरीलाई सास फेर्न बेलाबेला गाह्रो हुन्थ्यो । ओठ सुकेर बोल्न सक्ने अवस्थामा थिइनन् । कलेजोको बिरामी रहेकी उनी अस्पतालमै भए पनि यथेष्ट उपचार पाएकी थिइनन् । उनलाई स्वास्थ्य उपचार गराउन श्रीमान्ले बिहीबार अबेर शिक्षण अस्पतालमा ल्याएका थिए । ओपिडीमा नाम दर्ता गराउने समय सकिएकाले जाँच गराउन पाइनन् । शुक्रबार श्रमिक दिवश परेकाले ओपिडी सेवा बन्द भयो । शनिबार र आइतबार पनि सरकारी बिदा परेपछि तीन दिन उनले उपचार पाइनन् ।
सोमबार पनि उनको उपचार समयमा हुने छनक थिएन । किनकि सोमबार बिहान ९ बजे नाम दर्ताको टोकन लिएकी उनी भिडियो एक्सरेका लागि दिउँसोको पौने ३ बजेसम्म पालो कुरिरहेकी थिइन् । उनको टोकन नं. थियो ८३५ । उपचार भइरहेको थियो ७६७ टोकन नं.को । त्यसबेलासम्म ओपिडीमा एक हजार एक सय तीनजनाले टोकन लिइसकेका थिए ।
दुई दिन सरकारी बिदा र एक दिन श्रमिक दिवसको बिदाका कारण लगातार तीन दिन सरकारी बिदा भएपछि सरकारी अस्पतालमा सोमबार थेगीनसक्नु भिड लागेको थियो । कञ्चनपुरदेखि स्वास्थ्य जाँच गराउन आँउदा पनि पाँच दिनसम्म उपचार नपाएको चौधरीले गुनासो गरिन् । उनी भन्छिन्, ‘ओपिडी सेवा बन्द थियो, आकस्मिकमा उपचार गर्न मानेनन्, मलाई निकै गाह्रो भइरहेको छ । निजीमा जाँच गराउन पैसा जुटाउन सकिँदैन ।’
सोमबार उनी किड्नीको भिडियो एक्सरे गराउन पालो कुरिरहेकी थिइन् । ‘यस्तो भिड छ, आज भिडियो एक्सरे होला, मंगलबार रिपोर्ट आउने होला,’ उनले सुस्केरा हाल्दै भनिन्, ‘कहिले उपचार हुनु ? कहिले औषधि खानु ?’ उनले उपचारकै लागि दैनिक पाँच सय रुपैयाँ तिरेर होटलमा बस्दै आएको बताइन् ।
नैकापकी साबित्रा पराजुली सात वषकी छोरी श्रुतिको उपचारका निम्ति शिक्षण अस्पताल पुगेकी थिइन् । छालामा एलर्जी भएकी छोरीको फलोअपका लागि पुगेकी हुन् । उनलाई डाक्टरले पाँच दिनको अन्तरमा सुइ लगाउनुपर्ने सुझाव दिएका थिए । सुइ लगाउने पालो शुक्रबार परेको थियो । ‘आइतबारसम्म बिदा भइहाल्यो, सुइ लगाउन तीन दिन ढिला भयो,’ उनले आत्तिँदै भनिन् । लगातारको बिदाको चाप एकैदिन हुने गरेको उनले गुनासो गरिन् । ‘सरदर ५०–१०० भन्दा पालो कुर्नुपर्ने थिएन,’ उनले भनिन्, ‘दिउँसोको १ बज्न लाग्दासम्म पनि २७३ जनापछि पालो छ ।’ सामान्य उपचार गराउन पनि दुई दिन लाग्ने गरेको उनको अनुभव छ ।
रामेछापकी ममता कुमाललाई ढाड तथा नसा दुख्ने समस्याले सताउँदै आएको छ । उनी बिहीबार नाम दर्ता गराएर, ढाडको एक्सरे गराएर उनी सुकेधारास्थित आफन्तकोमा बस्न गएकी थिइन् । सोमबार अस्पताल पुग्दा धेरै भिडका कारण उनी चिन्तित थिइन् । बिहान ९ बजेदेखि पालो कुरेर बल्ल पौने ४ बजेमात्र जाँच गराउन पाइन् । ‘यसै त ढाड र नसाको बिरामी, झन् दिनभर लाइन बस्दा कस्तो हालत होला ?’ उनले भनिन् । हप्तामा दुई दिन बिदा र अन्य सार्वजनिक बिदाका कारण अस्पतालमा अध्याधिक बिरामीको चाप हुने गरेको उनको गुनासो थियो । उनले भनिन्, ‘म नियमित फलोअपमा आउँथेँ, तर यस्तो भिड देखेकी थिइनँ, उनले भनिन्, ‘डाक्टरहरू उही हुन्, बिरामीको चाप बढ्ने हो । सास्ती त हामी जनतालाई हो ।’
सेवा महँगो हुँदा निजी अस्पताल गरिब तथा न्यून आय भएका नागरिकको पहुँचभन्दा टाढा छ । सरकारले आइतबार सरकारी अस्पतालमा बिदा दिने निर्णय गरेसँगै सोमबार विभिन्न सरकारी अस्पतालका ओपिडी सेवा लिन आउने बिरामीको चाप बढेको छ । राजधानीको शिक्षण अस्पताल, वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टरलगायत ठुला सरकारी अस्पतालमा बिहानैदेखि स्वास्थ्य जाँच गराउन आउनेको लामो लाइनले भरिएको छ ।
पछिल्लो समय विश्वव्यापी रूपमा देखिएको इन्धन अभावको समाधानका लागि सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो । बिरामीको भिडले चिकित्सकलाई पनि स्वास्थ्य जाँच गर्न भ्याइनभ्याई भएको छ । सामान्यतया एक चिकित्सकले गुणस्तरीय सेवा दिन दैनिक ३०–४० बिरामी जाँच गर्नु उपयुक्त मानिन्छ । तर काठमाडौंका सरकारी अस्पतालमा यो अनुपात तीनदेखि चार गुणासम्म बढी देखिएको छ । राजधानीको विभिन्न सरकारी अस्पतालमा सीमित जनशक्ति र पूर्वाधारका बीच दैनिक हजारौं बिरामीको उपचार गर्नुपर्दा स्वास्थ्य सेवा प्रभावित हुने अवस्था सिर्जना भएको चिकित्सकहरू बताउँछन् । बिरामीको चापसँगै समय अभावका कारण चिकित्सकले प्रत्येक बिरामीलाई पर्याप्त समय दिन नसक्ने समस्या पनि बढेको छ । यसले उपचारको गुणस्तरमा समेत असर पार्ने जोखिम रहेको स्वास्थ्य विज्ञहरू बताउँछन् ।