२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

६ वर्षदेखि बन्द शंकरपुर स्वास्थ्य चौकी, सेवा ठप्प

Nada
विनोद निगम
२०८३ वैशाख २१ गते २१:१८
Shares
६ वर्षदेखि बन्द शंकरपुर स्वास्थ्य चौकी, सेवा ठप्प

नवलपरासी : पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–१, शंकरपुरमा निर्माण गरिएको आधारभूत स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भएको ६ वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । 

ncell

सेवा नहुँदा स्थानीयवासी आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित छन् भने राज्यको लगानी खेर गएको देखिएको छ ।

करिब २१ लाख रुपैयाँ लागतमा लुम्बिनी प्रदेश सरकारको बजेटमार्फत उपभोक्ता समितिबाट निर्माण गरिएको ६ कोठे भवन सुरुमा स्थानीयका लागि आशाको केन्द्र बनेको थियो । तर आवश्यक जनशक्ति, औषधि तथा व्यवस्थापन नहुँदा भवन लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेको छ ।

स्थानीयवासीका अनुसार स्वास्थ्य चौकी सञ्चालनका लागि गाउँपालिका वा वडा कार्यालयबाट कुनै ठोस पहल नभएको गुनासो छ । 

‘भवन बनेपछि सबै कुरा अलपत्र भयो, सेवा कहिल्यै सुरु भएन,’एक स्थानीयले भने । 

हाल भवनको अवस्था पनि दयनीय रहेको छ । छाना चुहिने, भित्तामा प्लास्टर अधुरो रहने र सरसफाइ अभावका कारण भवनभित्र फोहोर जमेको छ । स्थानीयका अनुसार भवनभित्र बाख्रा समेत राखिने गरिएको छ ।

स्वास्थ्य चौकी सञ्चालन नहुँदा शंकरपुरका बासिन्दा सामान्य उपचारका लागि समेत टाढा जान बाध्य छन् ।  विशेषगरी ज्येष्ठ नागरिक, गर्भवती महिला र बालबालिकालाई यसको प्रत्यक्ष असर परेको छ ।

‘सामान्य बिरामी हुँदा पनि घण्टौं टाढा जानुपर्छ,’अर्का स्थानीयले भने, ‘आपतकालीन अवस्थामा ठूलो जोखिम हुन्छ ।’

स्थानीयहरूले संरचना निर्माणपछि सञ्चालन व्यवस्थापनमा भएको ढिलाइलाई गम्भीर लापरवाहीका रूपमा लिएका छन् । उनीहरूले तत्काल स्वास्थ्य चौकी सञ्चालनमा ल्याउन आवश्यक जनशक्ति, औषधि र सेवा व्यवस्थापन गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । 

शंकरपुर स्वास्थ्य चौकीको अवस्था राज्यको लगानी, योजना कार्यान्वयन र अनुगमन प्रणालीमाथि प्रश्न उठाउने उदाहरण बनेको स्थानीयवासीको भनाइ छ ।

ताजा खबर

सम्बन्धित खबर